मनोरञ्जन
दुर्गेश थापाको ‘बीच्च बीच्चमा २.०’ मा दक्षिण भारतीय शैलीको झल्को (भिडियो)

काठमाडौं, भदाै २-
गायक तथा संगीतकार दुर्गेश थापाले तीजको अवसर पारेर आफ्नो चर्चित गीत ‘बीच्च बीच्चमा’को नयाँ सिरिज ‘बीच्च बीच्चमा २.०’ सार्वजनिक गरेका छन्।
अघिल्लो वर्षको गीतलाई निरन्तरता दिँदै उनले यसपटक फरक शैली र प्रस्तुतिसहित नयाँ गीत ल्याएका हुन्। ‘बीच्च बीच्चमा २.०’मा दुर्गेश थापाकै शब्द तथा संगीत रहेको छ। गीतमा दुर्गेशसँगै बेनिशा पौडेल र बबिना किरातीको स्वर सुन्न सकिन्छ।
गीतको विषयवस्तु भने दुर्गेशका अघिल्ला तीज गीतझैं पुरुषहरूले पनि तीजमा खुलेर रमाइलो गर्दै नाच्न पाउनुपर्ने भावमा आधारित छ। यद्यपि, यसपटक गीतको भिडियोमा भने नयाँ प्रयोग गरिएको छ। मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भिडियोमा दक्षिण भारतीय सिनेमाका गीतमा देखिने नृत्यशैली र प्रस्तुति प्रयोग गरिएको छ।
भिडियो सार्वजनिक भएपछि दर्शकहरूले पनि गीतको संगीत र दृश्य प्रस्तुतिमा दक्षिण भारतीय सिनेमाको प्रभाव देखिएको प्रतिक्रिया दिएका छन्। कतिपय दर्शकले ‘बीच्च बीच्चमा २.०’मा दक्षिण भारतीय तथा हिन्दी गीतको झल्को आएको बताएका छन्।
गीत सार्वजनिक कार्यक्रममा दुर्गेशले तीजमा महिलाहरूले हिन्दी गीतमा नाचेको देखेर आफूलाई त्यसबाट प्रेरणा मिलेको बताए। हिन्दी गीतको स्वादलाई नेपाली भाषामा प्रस्तुत गर्ने प्रयासस्वरूप नयाँ गीत तयार गरिएको उनको भनाइ छ। भिडियोमा दुर्गेश थापासँगै स्मारिका ढकाल, करिश्मा केसी र गुँरास नानीले नृत्य गरेका छन्। गीत तथा भिडियो दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

























