राजनीति

गृहमन्त्रीलाई वर्षमान पुनको प्रश्नः विपद्को प्रतिकार्यबारे सदनलाई जानकारी दिनुस्

Banner

काठमाडौं, भदौ २ –

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा जानु स्वाभाविक भए पनि अहिले देशभर विपद्का घटना भइरहेकाले सरकारको प्रतिकार्यबारे सदनलाई जानकारी आवश्यक रहेको बताए ।

उनले भने, ‘गृहमन्त्रीज्यू आफ्नो निर्वाचन क्षेत्रमा गइरहनु भएको छ, त्यो राम्रो हो। मतदाताहरूले आफ्नो विगतको प्रतिबद्धताको जवाफ खोज्दछन् । तर उहाँले आफ्नो मत फिर्ता लानु भनिराख्नु भएको छ। तर हामी यहाँ गृहमन्त्रीलाई खोज्दैछौँ ।’

पुनले देशभर भइरहेका विपद्का घटनामा सरकारले गरिरहेको प्रतिकार्य, उद्धार तथा राहतका कामबारे स्पष्ट जानकारी दिन गृहमन्त्रीसँग माग गरे । विपद् व्यवस्थापनका लागि सरकारले गरेको तयारी, घटनाको अवस्था र उद्धार कार्य कहाँ–कसरी भइरहेको छ भन्नेबारे सदनलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो ।

‘म चाहिँ विपद् देशभर प्रतिकार्यको काम के भइरहेको छ, प्रतिकार्यको के तयारी छ, घटनाहरू के भए, कहाँ के भइरहेको छ, रेस्क्यु के भए, पुनर्निर्माण, पुनःस्थापना कामका लागि के तयारी हुँदैछ, राहत सामग्री कसरी पु¥याइएका छन्,’ उनले भने, ‘त्यस सम्बन्धी जानकारी गृहमन्त्रीले यस सदनलाई दिनुपर्छ। त्यसका लागि म सभामुखमार्फत माग गर्न चाहन्छु,’ उनले भने ।

पुनले प्राकृतिक विपद्को समयमा उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढाउन सरकारको समन्वय र तयारी महत्वपूर्ण हुने बताए । उनले विपद्का घटनाबारे सरकारको आधिकारिक अवस्थाबारे संसदलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।

यसैगरी सांसद पुनले दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सरकारी सेवाका लागि नागरिकले लामो समय लाइन बस्नुपर्ने अवस्था देखिएको भन्दै सरकारप्रति प्रश्न उठाए ।

उनले खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेको र वर्षको बीचमा समेत उपभोक्ताहरू ग्यासका लागि लाइनमा बस्नुपरेको बताए । त्यस्तै, रासायनिक मल पर्याप्त रूपमा उपलब्ध हुन नसक्दा किसानहरूले पनि लाइन बस्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।

‘खाना पकाउने ग्यासको आपूर्ति भइरहेको छैन । वर्षको बीचमा लाइन बसिरहेका छन् उपभोक्ताहरू । अर्कोतिर मल पर्याप्त उपलब्ध छैन, त्यसमा पनि लाइन नै देखिन्छ । पासपोर्टमा पनि लाइन छ,’ पुनले भने।

उनले नयाँ राजनीतिक शक्तिहरूले विगतका सरकारका कमजोरी अन्त्य गर्ने र नागरिकलाई सहज सेवा दिने प्रतिबद्धता गरे पनि व्यवहारमा नागरिकले झन् धेरै क्षेत्रमा लाइन बस्नुपर्ने अवस्था आएको टिप्पणी गरे ।

‘नयाँ पार्टी, नयाँ साथीहरूको स्प्रिट थियो– विगत ३५ वर्षमा लाइन नै लाइन भयो भनिन्थ्यो। आज त झन् थप लाइनहरू– ग्यासमा, खानेपानीमा पनि लाइन, मलमा पनि लाइन, पासपोर्टमा पनि लाइन,’ उनले भने।

नागरिकले कतिवटा क्षेत्रमा लाइन बस्नुपर्ने हो भन्दै उनले सरकारसँग जवाफ मागे। नयाँ राजनीतिक शक्तिको आगमनले विगतका समस्या समाधान गर्ने अपेक्षा गरिए पनि नागरिकले थप समस्या र लाइनको सामना गर्नुपर्ने अवस्था आउन नहुने उनको भनाइ थियो ।

‘कतिवटा लाइन लाग्नुपर्ने हो जनतालेरु नयाँ भनेको लाइन लाग्ने, लाइन थप्ने हो ? ’ पुनले प्रश्न गरे, ‘यसमा जवाफ चाहिन्छ।’

पुनले अत्यावश्यक वस्तुको सहज आपूर्ति तथा सार्वजनिक सेवाको प्रभावकारी व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताए । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>