देश/प्रदेश
स्पष्ट ऊर्जा नीतिको अभावमा देश ग्यासको परनिर्भरतामा अल्झियो स् सांसद न्यौपाने

काठमाडौं, भदौ २-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले जलविद्युत्को प्रचुर सम्भावना भएको देशमा खाना पकाउने ग्यासको अभाव हुनु र परनिर्भर रहनु विडम्बनापूर्ण रहेको बताएका छन् । मंगलबार (भदौ २) प्रतिनिधिसभा बैठकमा उनले देशलाई स्वच्छ विद्युतीय भान्सातर्फ डोर्याउन स्पष्ट ऊर्जा नीति, कानुन र सोचको अभाव रहेको उल्लेख गरे ।
९५ प्रतिशत नेपाली भान्सालाई आयातित ग्यास, दाउरा र गुइँठाबाट मुक्त गराई विद्युतीय ऊर्जातर्फ लैजानुपर्नेमा उनले जोड दिए । विद्युतीय भान्साको प्रवद्र्धन गर्न सके वार्षिक ६० अर्ब रुपैयाँबराबरको ग्यास आयात प्रतिस्थापन हुने उनले बताए । १२ अर्ब रुपैयाँबराबरको वन तथा काठको पनि बचत हुने उनले उल्लेख गरे ।
यस्तै, गुइँठाको विकल्पमा बिजुली प्रयोग गर्दा वार्षिक दुई अर्ब रुपैयाँबराबरको जैविक मल जोगिने उनको भनाइ छ ।
वन तथा वातावरण ऐन ऊर्जा विकासको बाधक बनेको टिप्पणी गर्दै उनले भने, “रुख काट्न नदिएर जति वातावरण जोगाइन्छ, त्योभन्दा सयौँ गुणा बढी वन र वातावरण विद्युतीय ऊर्जाको प्रयोगबाट पुस्ताौँसम्मका लागि संरक्षण गर्न सकिन्छ ।”
देशमा स्रोत, प्रविधि, जनशक्ति र निजी क्षेत्रको तत्परता हुँदाहुँदै पनि स्पष्ट ऊर्जा दृष्टि र ठोस योजनाको अभावले विकास अवरुद्ध भएको उनले टिप्पणी गरे ।
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन र प्रतिव्यक्ति १,५०० युनिट खपतको लक्ष्य हासिल गर्न चार महिनासम्म पनि स्पष्ट ‘रोडम्याप’ तयार हुन नसक्नुले सरकारको इच्छाशक्ति र नेतृत्वमा कमजोरी देखिएको उनले बताए ।
ऊर्जा विकासलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन उनले माग गरे । वन, जग्गा र प्रक्रियागत अवरोध हटाउन ‘ऊर्जा विकास दशक’ र ‘संकट ऐन’ ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए ।
नेपालीले पसिना बगाएर कमाएको पैसा विदेशी इन्धन आयातमा खर्च गर्नुको साटो स्वदेशी बिजुली उत्पादन र खपतमा लगाउनुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

























