देश/प्रदेश
बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, भदौ १-
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले मानवीय जनधनको क्षति भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक बैठकमा सांसदहरूले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन र बाढीपहिरोबाट पीडित परिवारको सुरक्षामा जोड दिन सरकारसमक्ष माग गर्नुभयो ।
बैठकमा सांसद पद्माकुमारी अर्यालले अवरिल वर्षाका कारण बाढीपहिरोले देशभर जनधनको क्षति भएको जानकारी गराउनुभयो । उहाँले रोल्पामा दुई दिनमा १८ जनाले मृत्युवरण गर्नुपरेको भन्दै जाजरकोट, बाजुरा, कास्की, पर्वतलगायत क्षेत्रमा यस अवधिमा बाढीपहिरोका कारण धेरै नागरिकले प्रभाविता भएका जानकारी दिनुभयो । उहाँले जोखिममा भएका जनताको सुरक्षा, घाइतेलाई उपचार गर्नुका साथै राज्यले अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
सांसद वर्षमान पुनले रोल्पामा गएको पहिरोका कारण धेरै जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद वलावती शर्माले बाढीपहिरोका कारण बाग्लुङ जिल्लामा भएको धनजनको क्षतिको अवस्था सुनाउँदै विपद् व्यवस्थापन गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था गर्न माग आग्रह गर्नुभयो ।
सांसद राजिव खत्रीले सरकारले भूमिहीनको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै सुकुमवासीलाई निराश नहुन आग्रह गर्नुभयो । सांसद मधुकुमार चौलागाईंले बाढीपहिरोका कारण बिग्रिएको सडक स्तरोन्नति र मर्मत गर्न सरकारको ध्यानार्कषण गराउनुभयो ।
सांसद पार्वती विकले गत साउनको अन्तिम सातामा आएको निरन्तर वर्षाका कारण जाजरकोटका जनताले भोग्नु परेको पीडा सुनाउदै सरकारले तत्काल राहत र सुरक्षित बस्ती व्यवस्थापनमा जोड दिनुपर्ने माग राख्नुभयो । सांसद रेणुका काउचाले बाग्लुङ जिल्लासहित विभिन्न क्षेत्रमा भएको बाढीपहिरोका कारण प्रभावित नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । सांसद सन्दीप रानाले विपद् व्यवस्थापनमा विज्ञ प्राविधिक टोलीमार्फत अध्ययन गरी वैज्ञानिक र दीर्घकालीन रोकथाम गर्नुपर्ने माग राख्नुभयो ।
बैठकमा सांसद अभिषेकप्रताप साह, खड्गबहादुर शाही, यज्ञबहादुर बोगटी, यज्ञमणी न्यौपाने, विष्णुबहादुर खड्का, बिना गुरुङ, विक्रम खनाल, एशुदाकुमारी बराल, जोगकुमार बरबरिया यादव, अम्बिकादेवी सङ्ग्रौला, भीमकुमारी बुढामगर, निराशा चौधरी (डगौरा), रविन महतो, खड्कबहादुर बुढा, रमेशकुमार मल्लले विपद्का कारण विभिन्न क्षेत्रमा भएको घटना र क्षतिबारे जानकारी दिँदै प्रभावकारी रूपमा विपद् व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा सांसद कुलभक्त शाक्य र गणेश पराजुलीले कवि दुर्गालाल श्रेष्ठको मृत्यु भएकामा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँले साहित्यका क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । रासस

























