Breaking News
सुधनले मतदातालाई किन भनेः चार महिनामा कायपलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस्

गोरखा,भदौ १-
गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातालाई छोटो समयमा नै कायपलट गर्न नसकिने जवाफ फर्काएका छन् । आइतबार बेलुका आफ्नो निर्वाचन क्षेत्र गोरखाको शहीद लखन गाउँपालिका– ९ का मतदातासँग छलफलको क्रममा गृहमन्त्री गुरुङले यस्तो जवाफ दिएका हुन् । गृहमन्त्री गुरुङ आइतबार मतदातासँग छलफलका लागि शहीद लखन गाउँपालिका पुगेका थिए । उक्त छलफलका क्रममा मतदाताले गुरुङसँग चुनावका बेला गरेका वाचा पूरा नभएको भन्दै प्रश्न गरेका थिए । त्यसपछि कड्किँदै गुरुङले सरकार गठन भएको चार महिनामै कायपलट गर्न नसकिने जवाफ दिएका थिए ।
‘चार महिनामा त तपाईंलाई कायपलट गर्न सक्दिनँ, भोट फिर्ता लिएर जानुस्’, गृहमन्त्री गुरुङले प्रश्नकर्तालाई जवाफ दिएका छन् । उनले अगाडि भने, ‘तपाईंहरूले मलाई विश्वास गर्न सक्नु हुँदैन भने अरुबेला नजिताउनुस्, पहिला तपाईंले पाँच वर्षका लागि हेर्नुस्, मैले काम गर्न सकिनँ भने मलाई भोट नदिनुस्, यति त आँट गरेको हो नि त ।’

























