देश/प्रदेश
ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

कैलाली, भदौ १-
बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ ।
बर्दगोरिया–१ स्थित मुडा पुल नजिकै आज बिहान उहाँ सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाइते हुनुभएकी नेतृ सापकोटालाई दोदोधरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो । नेतृ सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवारसमेत बन्नुभएको थियो । रासस

























