चितवन विशेष
चितवनमा ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण

चितवन, भदौ १ –
सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ । स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो ।
पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका–८ का १५० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको हो । संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार वडा कार्यालयबाट थप ५०० चुलो वितरणका लागि सिफारिस प्राप्त भएको छ । समुदायको आवश्यकता पहिचान गरी ती चुलोसमेत क्रमशः वितरण गरिने उहाँले बताउनुभयो ।
सपना भिलेज सोसियल इम्प्याक्टले विगत दुई वर्षदेखि सुधारिएको चुलो उत्पादन तथा वितरण गर्दै आएको छ । ग्रामीण क्षेत्रमा सुधारिएको चुलोको माग निरन्तर बढिरहेको उहाँले बताउनुभयो । विशेषगरी दाउरामा निर्भर परिवारबाट चुलोको माग बढ्दै गएको उहाँको भनाइ छ । स्थानीय तहको सिफारिस तथा समुदायको आवश्यकताका आधारमा लक्षित परिवार छनोट गरी चुलो वितरण गर्दै आएको संस्थाले जनाएको छ ।
सुधारिएको चुलोको प्रयोगबाट घरभित्र हुने धुवाँमा कमी आउनाका साथै दाउराको खपत घट्ने, खाना पकाउन लाग्ने समय तथा श्रम बचत हुने र वातावरण संरक्षणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ । यसबाट विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष गिरीले बताउनुभयो । सपना भिलेज सोसियल इम्प्याक्टले स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो विकासलाई प्राथमिकतामा राख्दै सुधारिएको धुवाँरहित चुलोको उत्पादन तथा वितरण कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने उहाँले बताउनुभयो ।रासस

























