चितवन विशेष
नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

नारायणगढ,साउन २९-
नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपख हुने चहलपहलसँगै मानव सेवाको अर्को गतिविधि पनि देखिन थालेको छ । यहाँ हरेक साँझ सञ्चालन हुँदै आएको रक्तदान अभियानमार्फत नियमित रूपमा रगत सङ्कलन भइरहेको छ । साँझको समयमा नदी किनारमा रहेको चौतारीको छेउमा सानो पाल टाँगेर सञ्चालन गरिने अभियानमा स्वास्थ्य प्राविधिकले रक्तदाताको स्वास्थ्य परीक्षण गरी रगत सङ्कलन गरिरहेका हुन्छन् । नारायणी किनारमा घुम्न आउने सर्वसाधारण स्वःस्फूर्त रूपमा रक्तदानमा सहभागी हुने गरेका छन् । दैनिक साँझ यहाँ रक्तदानका लागि सर्वसाधारणको उत्साहजनक सहभागिता हुने अभियानका संयोजक राजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
‘मानवताका लागि रक्त अभियान’ नाम दिइएको उक्त अभियानका संयोजक पौडेल रहनुभएको छ । अभियानमा उहाँसँगै निःस्वार्थ रूपमा मानवीय सेवामा खटिएका स्वयंसेवी परिचालित छन् । वल्र्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवनको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा अभियान सञ्चालन भइरहेको पौडेलले जानकारी दिनुभयो ।
अभियानका संयोजक पौडेलले यो विशुद्ध मानवीय सेवाको उद्देश्यले सञ्चालन गरिएको बताउनुभयो । “सुरुमा यहाँ आउने व्यक्तिहरू रक्तदानका लागि इच्छुक हुनुहोला कि नहोला भन्नेमा हामी अन्योलमा थियौँ । तर पहिलो दिनदेखि नै रक्तदानप्रति देखिएको उत्साहले हामीलाई थप हौसला दिएको छ”, उहाँले भन्नुभयो । बिरामीका लागि आवश्यकपर्ने रगतको अभाव हुन नदिनु र मानवीय सेवामा सहयोग पुर्याउनु अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
गत असार २१ गते परीक्षणका रूपमा नारायणी नदी किनारमा घुम्ती रक्तदान शिविर सुरु गरिएको थियो । पौडेलका अनुसार अभियान ३०औँ संस्करणसम्म आइपुग्दा ६१९ पिन्ट रगत सङ्कलन भइसकेको छ । २९औँ संस्करणसम्म ५९४ पिन्ट रगत सङ्कलन भएको थियो ।
उहाँले भारी वर्षाका कारण समस्या हुने र अन्य विषेश अवस्थाबाहेकको समयमा नारायणी नदी किनारमा हरेक साँझ ४ः०० बजेदेखि ८ः०० बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । “सुरुका दिनमा भरतपुरबाट केही रक्तदाता लिएर आएका थियौँ । तर यहाँका स्थानीयको उत्साहले नारायणी किनारबाट नियमित रूपमा रक्त सङ्कलन गर्न सकिने प्रमाणित भएको छ”, उहाँले भन्नुभयो ।
नारायणी नदी किनार रगत सङ्कलनका लागि उपयुक्त स्थान भएको संयोजक पौडेलकोे भनाइ छ । यहाँ चितवन र नवलपुरबाट मात्रै नभई अन्य जिल्लाबाट आउने व्यक्तिसमेत रक्तदानमा सहभागी हुने गरेका छन् । रक्तदान गर्न इच्छुक हुँदाहुँदै पनि अवसर नपाएका व्यक्तिले नारायणी किनारमा सहज रूपमा रक्तदान गर्न पाइरहेका पौडेलले बताउनुभयो ।
बिदामा नेपाल आएका विदेश बस्नेहरूले अभियानमा सहभागी भएर रक्तदान गरिरहेका पौडेलले जानकारी दिनुभयो । “केही दिनअघि विदेशबाट आएका दुई महिलाले पनि यहाँ आएर रक्तदान गर्नुभयो । उहाँहरू रक्तदान गर्न पाउँदा निकै खुसी हुनुभयो । यसले हामीलाई पनि उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।
अभियानमा रक्तदानका लागि कुनै पूर्वजानकारीबिना स्वःस्फूर्त रूपमा आउने व्यक्तिको सङ्ख्यासमेत बढ्दै गएको उहाँले बताउनुभयो । रगतको आवश्यकता पर्ने बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउन अभियानले सहयोग पुर्याउने अभियानको विश्वास छ ।

























