समाचार
गौरेश्वर पशुपति मन्दिरमा १०८ शिवलिङ्गको प्राणप्रतिष्ठा

भरतपुर, साउन ३०-
भरतपुर महानगरपालिका–१, नारायणगढस्थित गौरेश्वर पशुपति मन्दिरमा १०८ शिवलिङ्गको प्राणप्रतिष्ठा तथा उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नारायणी नदीको किनारमा रहेको मन्दिर परिसरमा शुक्रबार आयोजित विशेष समारोहका बीच गलेश्वर आश्रम देवघाटका पीठाधीश एवम् महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी महाराजको प्रमुख आतिथ्यमा शिवलिङ्गको प्राणप्रतिष्ठा एवम् मन्दिरको समुद्घाटन गरिएको हो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समितिका महासचिव सुरेश कुमार अधिकारीले गरेका थिए ।
समारोहमा प्रमुख अतिथि महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी महाराजले उद्घाटन मन्तव्य राख्दै धार्मिक एवम् सांस्कृतिक सम्पदाको संरक्षणले समाजमा सद्भाव र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने बताए ।
अध्यक्ष श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने १०८ शिवलिङ्ग स्थापनार्थ सहयोगी दाताहरू, आजीवन सदस्यहरू, स्थानीय बासिन्दा तथा सम्पूर्ण भक्तजनहरूप्रति आभार व्यक्त गर्दै उद्घाटन सत्रको समापन गरोक थिए। कार्यक्रमको समापनपश्चात् उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई प्रसाद ग्रहण गराइएको थियो।

























