देश/प्रदेश
१० महिनापछि कांग्रेसीसँग एउटै मञ्चमा देउवा

काठमाडौँ, साउन २९-
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १० महिनापछि पार्टीका नेतासँग एउटै सार्वजनिक मञ्चमा देखिएका छन् ।
गत वर्ष असोज २८ को केन्द्रीय समिति बैठकपछि उनी पार्टीका कार्यक्रममा सहभागी थिएनन् । यो बैठकले तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबहाक सभापतिको जिम्मा दिएको थियो ।
जेन–जी आन्दोलनमा निर्घात कुटपिट भएपछि देउवाले पूर्णबहादुरलाई जिम्मा लगाएर निष्क्रिय रहने अनुमान थियो । यसपछि उनी पार्टीका कार्यक्रममा देखिएनन् । भूमिगत रहेरै उनले पार्टीका गतिविधिमा सक्रियता जनाएका थिए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, कांग्रेस ९बीपी० अध्यक्ष सुशीलमान शेरचनसहित काँग्रेसका नेतासँग निवासमै भेट भने गरिरहेका थिए ।
यसबीच पुसमा पार्टीको विशेष महाधिवेशन भयो । उनलाई त्यहाँ निम्तो गरिएको थियो । तर, उनी त्यहाँ गएनन् । अन्ततः गगन थापा काँग्रेसको सभापति बने । माघमा थापा नेतृत्वकै कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दियो । यसपछि देउवाको निष्क्रियता बढ्यो । उनी उपचारका लागि भन्दै फागुन तेस्रो साता चुनावको मुखैमा सिंगापुर उडेका थिए ।
पाँच महिनापछि नेपाल फर्किएका देउवालाई संस्थापनइतर पक्षले बिहीबार भव्य स्वागत गर्यो । पछिल्लोपटक सभापतिको हैसियतले पार्टीको कार्यक्रममा सहभागी भएको १० महिना र नेपाल छोडेको ५ महिनापछि उनी शुक्रबार फेरि सार्वजनिक मञ्चमा देखिएका छन् ।
पार्टीभित्र विवाद चलिरहेको अवस्थामा नेपाल फर्किनु र राष्ट्रिय भेलामा सहभागी हुनुले राजनीतिक सरगर्मी बढाएको छ ।
देउवा गत असोजमा सभापतिको हैसियतले सानेपाको केन्द्रीय समिति बैठकमा सहभागी हुँदा तत्कालीन महामन्त्री गगनकुमार थापाको समूह साथमै थियो । तर, आज दुवै पक्ष ‘काँग्रेसको नाममा’ छुट्टाछुट्टै कार्यक्रम गर्नुपर्ने परिस्थितिमा पुगेका छन् । काँग्रेस दुई समूहमा खुलेर विभाजित भएको छ ।
देउवासँग पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत नेता साथमा उभिएका छन् ।
तस्बिर स् नेपाल फोटो लाइब्रेरी

























