राजनीति
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव

विराटनगर, साउन २९ –
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको श्रमबजारलाई आकर्षक बनाउन गम्भीर रूपमा सोच्नुपर्ने बताउनुभएको छ ।
विराटनगर महानगरपालिका–३ मदनगरमा नवनिर्मित श्रम तथा रोजगार कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले स्वदेशमै रोजगारी मर्यादित, सुरक्षित र सम्मानजनक बनाउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “सरकारले रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ । उक्त घोषणाअनुरुप स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा जोड्ने हाम्रो लक्ष्य छ ।”
नेपालको श्रमबजार युवामैत्री बनाउन सरकारले विशेष पहल गरिरहेको बताउँदै उहाँले बदलिँदो श्रमबजारको माग र श्रमिकको आकाङ्क्षालाई सम्बोधन गर्नेगरी पहिलो पटक श्रमनीति निर्माण भइरहेको जानकारी दिनुभयो ।
मन्त्री यादवले रोजगारीका अवसर, आवश्यक योग्यता र सीप तथा श्रमबजारको मागलगायतका सूचनालाई एकीकृत गरी रोजगारदाता र रोजगारीको खोजीमा रहेकाबीच अर्थपूर्ण संवाद गर्न ‘श्रम संसार’ प्रणाली स्तरोन्तति गरिएको बताउनुभयो । मन्त्रालयका सचिव डा दीपक काफ्लेले श्रमिकको अधिकार संरक्षण गर्न सरकारले निरन्तर प्रयास गरिरहेको जानकारी दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले श्रम तथा रोजगार कार्यालयबाट सम्पादन हुने कार्य गुणस्तरीय, चुस्त हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । श्रम तथा रोजगारका कार्यालयका प्रमुख निरजकुमार देवले नवनिर्मित भवन रु पाँच करोड ३६ लाखको लागतमा निर्माण भएको जानकारी दिनुभयो । रासस

























