राजनीति
नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष

सुदूरपश्चिम, साउन २९ –
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट मुलुकको राजनीतिमा परिचित नाम हो । उहाँ हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ । भट्ट विसं २०७९ मा भएको प्रदेशसभा निर्वाचमा डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको हो ।
उहाँ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ चौडीमा विसं २०३१ पुस २ मा स्वर्गीय रामदत्त भट्ट र गोमतीदेवी भट्टका सन्तानका रूपमा जन्मिनुभएको हो । भट्टको प्रारम्भिक जीवन डडेल्धुरामै बित्यो । उहाँको शैक्षिक योग्यता आईएल तहसम्मको छ । भूमिगत राजनीतिदेखि सङ्गठनात्मक जिम्मेवारीसम्म भट्टले विसं २०४७ मा नेकपा एकता केन्द्रको सदस्यता लिएर औपचारिक राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । विसं २०५० असोजदेखि उहाँ पार्टीको पूर्णकालीन सदस्य बन्नुभयो । सोही वर्षको कात्तिकमा नेकपा एकता केन्द्रको डडेल्धुरा जिल्ला सदस्यको जिम्मेवारीसमेत सम्हाल्नुभयो ।
राजनीतिक गतिविधिका क्रममा विसं २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट ‘राज्यविरुद्ध अपराध’सम्बन्धी मुद्दामा पक्राउ परेका भट्टले विसं २०५३ पुस ८ गतेसम्म जेल जीवन बिताउनुभयो । त्यसपछि उहाँ तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्द्वमा विसं २०५२ फागुन १ देखि २०६३ वैशाख १२ गतेसम्म भूमिगत राजनीतिक गतिविधिमा सक्रिय रहनुभयो ।
माओवादी आन्दोलनका क्रममा उहाँ विसं २०५८ साउनमा उहाँ नेकपा (माओवादी) का डडेल्धुरा जिल्ला सेक्रेटरी, विसं २०५९ पुसमा दार्चुला र बैतडी जिल्ला इञ्चार्ज, विसं २०६० मा केन्द्रीय सदस्य बन्नुभएका भट्टले विसं २०६४ मा सेती–महाकाली राज्य समितिको सचिवको जिम्मेवारी सम्हाल्नुभयो ।
पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र तत्कालीन नेकपा ९माओवादी केन्द्र० को एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विसं २०७६ मा उहाँ सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज बन्नुभयो । नेकपा विभाजनपछि विसं २०७८ मा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी सम्हाल्नुभयो । भट्टले विसं २०८० मा पार्टीको स्थायी समिति सदस्यको जिम्मेवारी प्राप्त गर्नुभयो ।
संसदीय निर्वाचन यात्रा
नवनियुक्त मुख्यमन्त्री भट्ट संसदीय राजनीतिमा पनि निरन्तर सक्रिय हुनुहुन्छ । डडेल्धुराबाट उहाँ विसं २०६४, २०७० मा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभयो, तर नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी रहनुभयो ।
विसं २०७९ को प्रदेशसभा निर्वाचनमा डडेल्धुरा प्रदेशसभा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएसँगै भट्टको राजनीतिक भूमिका प्रदेशसभामा केन्द्रित भयो । उहाँलाई तत्कालीन अवस्थामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित हुँदा मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिएको थियो । विसं २०८० मा भट्ट सुदूरपश्चिम प्रदेशसभामा नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता बन्नुभयो, तर यसअघि मुख्यमन्त्री बन्ने अवसर आएन ।
लामो समय सङ्गठनात्मक तथा राजनीतिक भूमिकामा रहेका भट्टका लागि प्रदेशसभा प्रवेशले जनप्रतिनिधिका रूपमा नीति निर्माण र प्रदेश विकासका मुद्दामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर प्रदान ग¥यो ।
भट्टले आफ्नो राजनीतिक तथा संसदीय यात्रामा सुशासन, सामाजिक न्याय र वैज्ञानिक विकासको वकालत गर्दै आउनुभएको छ । उहाँले प्रदेशको आर्थिक तथा सामाजिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत, खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रतिबद्धता जाहेर गर्दै आउनुभएको थियो । सुदूरपश्चिमको सम्भावनालाई प्रदेशको समग्र विकाससँग जोड्नुपर्ने उहाँको सैद्धान्तिक अडान रहँदै आएको छ ।
लामो राजनीतिक सङ्घर्षबाट प्रदेशसभाको नेतृत्व तहसम्म आइपुगेका भट्ट आफूलाई सादगी, विकासप्रेमी र सुशासनका अभियन्ताका रूपमा प्रस्तुत गर्दै आउनुभएकामा अब त्यसलाई प्रमाणित गने जिम्मेवारी पाउनभएको छ ।
लामो राजनीतिक सङ्घर्षबाट प्राप्त अनुभव र लामो प्रतिक्षापछि प्राप्त मुख्यमन्त्रीको जिम्मेवारीलाई अब प्रदेशको नीति निर्माण र जनताको अपेक्षा सम्बोधनमा कसरी उपयोग गर्नुहुन्छ भन्नेमा धेरैको चासो रहेको छ । रासस

























