देश/प्रदेश
बागमती प्रदेशमा एमालेलाई थप एकताबद्ध बनाउन क्रियाशील रहने जेएन थपलियाको प्रतिबद्धता

चितवन, साउन २८-
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाले आफ्नो स्वास्थ्य अवस्थाबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रामक, अपूर्ण र अतिरञ्जित खबरहरूको पछि नलाग्न आग्रह गरेका छन्।
नेता थपलियाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो स्वास्थ्यका विषयमा सर्वसाधारणमा भ्रम सिर्जना नहोस् भन्नका लागि वास्तविक अवस्था सार्वजनिक गरेका हुन्।
गत साउन १८ गते बागमती प्रदेशको समसामयिक राजनीतिक विषयमा आयोजित छलफलमा सहभागी भइरहेका बेला अचानक रक्तचाप र मधुमेहमा असन्तुलन आई स्वास्थ्यमा गम्भीर जटिलता देखिएको उनले बताएका छन्। चिकित्सकहरूको सल्लाहबमोजिम थप परीक्षण तथा उपचारका लागि उनी काठमाडौँस्थित वीर अस्पतालमा भर्ना भई करिब आठ दिन उपचाररत रहेका थिए।
विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक परीक्षण, चिकित्सकीय निगरानी र उपचारपछि अहिले मेरो स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ।’ उपचारका क्रममा वीर अस्पतालका प्राडा ध्रुव गैरेको नेतृत्वमा रहेको चिकित्सक टोली, नर्स तथा स्वास्थ्यकर्मीहरूले देखाएको उच्च व्यावसायिक दक्षता, निरन्तर निगरानी र सहयोगप्रति उनले विशेष आभार प्रकट गरेका छन्।
स्वास्थ्यमा क्रमिक सुधार भइरहे पनि पूर्ण रूपमा स्वस्थ हुन बाँकी रहेको थपलियाले स्पष्ट पारेका छन्। चिकित्सकको सल्लाहअनुसार केही समय नियमित औषधि सेवन, पर्याप्त आराम र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भएकाले तत्कालै पूर्ववत् रूपमा राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय हुन सक्ने अवस्था नरहेको उनले जनाएका छन्।
यस अवधिमा आफ्नो स्वास्थ्य अवस्था र राजनीतिक जिम्मेवारीका विषयमा आएका भ्रामक सूचनाका आधारमा कुनै निष्कर्षमा नपुग्न नेता थपलियाले सबैमा अपिल गरेका छन्।
साथै, अस्पतालमा उपस्थित भई तथा फोन र सामाजिक सञ्जालमार्फत स्वास्थ्यलाभको कामना गर्ने पार्टी नेतृत्व, सहकर्मी, शुभचिन्तक एवं आफन्तजनप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। पूर्ण स्वास्थ्यलाभपछि अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ बागमती प्रदेशमा एमालेलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउन क्रियाशील रहने प्रतिबद्धता समेत उनले जनाएका छन्।


























