Breaking News
सिंहदरबारभित्रै ढिलासुस्ती: सात वर्षसम्म बनेन संसद् भवन, सातौँपटक म्याद थपिँदै

काठमाडौँ, साउन २८-
सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्य करिब सात वर्ष हुनै लाग्दा पनि सकिएको छैन । २०७९ साल असोजमा सकिनुपर्ने भवन निर्माणको काम ६ पटक म्याद थप हुँदा अहिले अन्तिम चरणमा पुगेर सुस्त बनेको छ ।
भवन निर्माणका लागि सातौँपटक म्याद थप गर्न निर्माण व्यवसायीले सहरी विकास तथा भवन निर्माण विभागसमक्ष निवेदन पेस गरेको छ । सबै कागजात प्राप्त नभएकाले म्याद थप भइनसकेको विभागको विशेष भवन निर्माण आयोजना निर्देशक रोशन श्रेष्ठले बताए । ‘म्याद थपका लागि निवेदन आएको छ । म्याद थप भइसकेको अवस्था पनि छैन । इन्स्युरेन्ससहित अरु कागजात पुगेको छैन,’ उनले भने ।
६ अर्ब ९२ करोड रुपैयाँ लगानीमा १ सय ५६ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन भइरहेको छ । यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा, अति विशिष्ट व्यक्ति(भीभीआईपी) कक्ष, पुस्तकालय, चमेना गृह, संसदीय दलका कार्यालय र सुरक्षाकर्मीको भवनसहित कुल १२ वटा ठुला भवन तयार हुनेछन् । यो कामको ठेक्का तुँदी-सेक जेभीले लिएको थियो ।
हालसम्म करिब ९५ प्रतिशत भौतिक प्रगति भएको निर्देशक श्रेष्ठले बताए । बढीमा डेढ महिनामा सकिने काम बाँकी भएपनि ठेकेदारको गति सुस्त देखिएको उनले सुनाए । छैटौँपटक थप भएको म्याद गत जेठ पहिलो हप्ता सकिइसकेको छ । यो म्याद सकिएपछि काम पनि निकै सुस्त छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनपछि संसदीय गतिविधि यही भवनबाट सञ्चालन गर्ने योजनाअनुसार २०७६ मा निर्माण अघि बढेको थियो । २०८२ मा निर्वाचन भएर नयाँ सांसद् आइसक्दा पनि संसद् भवन बन्न सकेको छैन ।
सिभिलतर्फको काम नसकिँदा इन्टेरियरको ठेक्का सम्झौता पनि प्रभावित भएको छ । केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा आन्तरिक सजावट, फर्निचर, सूचना प्रविधि, साउण्ड सिस्टम र सम्पूर्ण सफ्टवेयर र हार्डवेयरको काम गर्ने गरी ठेक्का लिएको थियो ।
२०८० असारमा सम्झौता भएकोमा २०८१ असारमा सकिनुपर्ने थियो । तर, भवन निर्माणकै काम नसकिँदा इन्टेरियरको जिम्मा लिएको ठेकेदारले गर्ने काम पनि प्रभावित भएको छ । यो सम्झौताको प्रगति करिब ५५ प्रतिशत छ ।
भवन बनाउने र इन्टेरियरको काम गर्ने दुवैको म्याद थप गर्नुपर्ने अवस्था रहेको निर्देशक श्रेष्ठले बताए । ‘दुई वटा काम एकअर्कासँग जोडिएको छ । दुई वटैको म्याद थप गर्नुपर्ने हुन्छ,’ उनले भने । दुवैको म्याद ६ महिनासम्म थप गर्ने तयारी विभागको छ ।
२०७६ साल असोज १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् भवन निर्माणको शिलान्यास गरेका थिए ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी











































