फोटो फिचर
गुँला पर्व सुरु, स्वयम्भूमा परम्परागत बाजागाजासहित भक्तजनको भीड (तस्बिर)

काठमाडौं, साउन २८ –
नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ। नेपाल संवत्अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने यो पर्वमा बौद्ध धर्मावलम्बीले विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यको परिक्रमा गर्ने तथा विशेष पूजा–आराधना गर्ने गर्छन्।
गुँला पर्व सुरु भएसँगै काठमाडौंको स्वयम्भू महाचैत्यमा भक्तजनको चहलपहल बढेको छ। पर्वका अवसरमा विशेषगरी विभिन्न परम्परागत बाजा बजाउँदै स्वयम्भूको परिक्रमा गर्ने प्रचलन छ। गुँला पर्व बौद्ध धर्मावलम्बीको प्रमुख पर्व भए पनि पछिल्लो समय अन्य समुदायका मानिससमेत सहभागी हुने गरेका छन्।
गुँला पर्वका अवसरमा बौद्ध धर्मावलम्बीले दैनिक स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुका साथै बौद्धनाथ, पाटनको पुलचोक तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका चैत्यको समेत परिक्रमा गर्ने गर्छन्। टोल–टोलबाट समूहमा बाजागाजासहित निस्किएर चैत्य तथा स्थानीय देवदेवीको परिक्रमा गर्ने परम्परा पनि रहेको छ।
गुँला पर्वको प्रमुख विशेषतामध्ये ‘न्याकुँ’ बाजा पनि एक हो। राँगाको सिङबाट बनाइने न्याकुँसहित धाः, धिमे, भुस्या, बाँसुरीलगायतका परम्परागत बाजा बजाएर पर्व मनाउने गरिन्छ। बाजागाजासहित चैत्यको परिक्रमा गर्नुका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायत देवीदेवताको पूजा तथा परिक्रमा गर्ने चलनसमेत रहेको छ।
गुँला पर्व खेतीपातीको मुख्य काम सकिएपछि मानिसहरू केही फुर्सदिलो हुने समय र अन्य चाडपर्वको आगमनलाई समेत जोडेर सामुदायिक रूपमा खुसी साटासाट गर्ने पर्वका रूपमा पनि लिइन्छ। पर्व अवधिभर बौद्ध धर्मावलम्बीले बुद्धको विशेष पूजा–आराधना गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्छन्।
पछिल्ला वर्षहरूमा गुँला पर्वमा मौलिक बाजागाजाको प्रयोग र सहभागिता बढ्दै गएको छ। यसले नेवार समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको गुँला पर्वको परम्परालाई नयाँ पुस्तामाझ समेत निरन्तरता दिन सहयोग पुगेको स्थानीयको भनाइ छ। एक महिनासम्म विभिन्न बाजागाजासहित चैत्य परिक्रमा र पूजा–आराधना गर्दै गुँला पर्व मनाइनेछ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी






































