चितवन विशेष
नयाँ ठेक्काबाट चितवन र तनहुँ जोड्ने घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले

दमौली,साउन २७-
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्काबाट हुने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले घुमाउने पुल निर्माणको ठेक्का तोडिसकिएकाले अब नयाँ ठेक्कामार्फत पुलको काम निर्माण हुने उल्लेख गर्नुभयो ।
विगतमा सांसद हुँदा आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुलका बारेमा आफूले धेरै चासो राखेको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले संसद्मा पनि त्यसबारेमा पटक–पटक बोलेको बताउनुभयो । कहिले बाढी आएर पुलमा क्षति पु¥याएको, कहिले डिजाइन परिवर्तन गर भनेर दबाब दिने जस्ता कारणबाट पुल निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै उहाँले उक्त पुलको ठेक्का तोड्ने काम भएकाले अब नयाँ ठेक्कामार्फत पुल निर्माण हुने बताउनुभयो ।
पूर्वाधार विकासमन्त्रीलाई भेटेरै घुमाउने पुल जसरी पनि सुरु गर्नु भनेर भनिसकेको बताउँदै अर्थमन्त्री वाग्लेले भन्नुभयो, “खरिद ऐन नै संशोधन गरी विकास निर्माणलाई गुणस्तरीय बनाउन प्रयास गरेका छौँ ।” आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाको समग्र विकासका लागि अत्यावश्यक बजेट विनियोजनका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । त्यसक्रममा उहाँले पूर्वाधार निर्माण, सडक सञ्जाल विस्तार तथा पर्यटन क्षेत्रको प्रवद्र्धनलगायत स्थानीय तहका प्राथमिकतामा विषयमा ध्यानाकर्षण गराउनुभयो ।

























