चितवन विशेष
स्वास्थ्यमा सुधार आएपछि चितवनका सांसद जेएन थपलिया डिस्चार्ज

चितवन,साउन २७-
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। एक साताभन्दा बढी वीर अस्पतालमा उपचार गराएका थपलिया आज चितवन फर्कदैछन । एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा छलफलका क्रममा गत १८ साउन राति अचानक बेहोस भएर ढलेपछि थपलियालाई सुरुमा मध्यपुर ठिमी अस्पतालमा भर्ना गरिएको थियो। पछि उनलाई थप उपचारका लागि वीर अस्पताल लगिएको थियो।
थपलियाका छोरा सुरजका अनुसार स्वास्थ्यसम्बन्धी रिपोर्टहरू सामान्य आएपछि मंगलबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो। उनले बुधबार चितवन फर्किन लागेको जानकारी दिए। यसैबीच, थपलियालाई मुख्यमन्त्री पदबाट हटाएर एमाले नेता किरण थापामगरलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने प्रक्रिया अघि बढाइएको छ। थपलिया चितवन फर्कने क्रममा एमाले नेता सुहाङ नेम्वाङसमेत उनलाई भेट्न पुगेका थिए।

























