मकवानपुर
चुच्चेखोला सामुदायिक वनः सालकको अभिभावक

बागमती, साउन २७ –
हेटौँडाको चुच्चेखोला सामुदायिक वन सालकको अभिभावक साबित भएको छ ।
जब वनबाट बिरामी सालक गाउँ पस्छन्, तब उनीहरुलाई उपभोक्ता समितिले उपचार गरी सुरक्षित साथ जङ्गल फर्काउँछन्, त्यसैले सालकको सारथी हो, चुच्चेखोला सामुदायिक वन सालक सङ्कटापन्न प्रजातिभित्र पर्छ । प्रदेश सरकारले सालकको संरक्षणमा सक्रियता बढाएको छ । यहाँका सामुदायिक वन र डिभिजन वन कार्यालय, मकवानपुर सालक संरक्षणमा क्रियाशील छन् ।
चुच्चेखोला सामुदायिक वन, हेटौँडा उपमहानगरपालिका वडा नं १७ मा पर्छ । उक्त सामुदायिक वनले सालक संरक्षण गर्ने हेतुले ‘सालक पार्क’ निर्माण गरी समुदायलाई संरक्षणमा लाग्न एकजुट पारेको छ ।
वनले विसं २०७५ देखि निरन्तर सालक संरक्षणका लागि समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रम अभियानकै रूपमा सञ्चालन गर्दै आएको उक्त वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण कटुवालले राससलाई बताउनुभयो ।
सो सामुदायिक वन २३८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । समूहले हालसम्म सालकको गणना गर्न सकेको छैन । तर, सालकको सङ्ख्या एकिन नभए पनि वनबाट ३२ वटा सालकको उद्धार गरी उपचारपछि छाडिएको छ ।
जङ्गलमा २०५७ सालमा पहिलोपटक सालक भेटिएको थियो । त्यस्तै २०६३ सालमा पनि सालक भेटिएपछि सालक संरक्षणमा जनचासो बढेको हो । सालकको मुख्य आहारा धमिरा हो । यहाँका सामुदायिक वन क्षेत्रमा धमिराका पोलाहरू पाइन्छन् ।
सामुदायिक वनका सबै पदाधिकारीले जङ्गलमा च्याउ खोज्न पुगेकालाई सम्झाइबुझाई धमिराका पोलाहरू संरक्षण गर्न अनुरोध गर्ने गरेका छन् । उहाँहरूले डढेलो रोकथाम आदिमा समुदायलाई सचेत पनि गराउँदै आउनुभएको छ । सालकले वनका धमिरा तथा कीरा खाएर पर्यावरणमा सहयोग पुर्याउने गरेको छ । त्यसैले सालकलाई किसानको साथी पनि भनिन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरिद वा बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
वन उपभोक्ता समूहका सदस्यले सालकलाई आफ्नै परिवारका सदस्यजस्तै गरी संरक्षण गरिरहेको यहाँका स्थानीयवासी बताउँछन् । सालक पार्कलाई व्यवस्थित बनाउनका लागि यहाँ परम्परागत जाँते, रोगटे पिङ आदि राखिएको छ भने परिसरमा आठवटा ‘पिकनिक स्पोर्ट’ पनि छ ।
पार्कलाई आकर्षण बनाउन आकासे पुल निर्माणको थालनी भएको छ । फलामे पुलमा पर्यटकलाई लक्षित गरी दायँबायाँ दुवै किनारमा सिसाको पारदर्शी बार राख्ने तयारी गरिएको बताइन्छ । पुल निर्माणको लागत रु ७० लाख रहेको छ ।
पुल तरेर कैलासडाँडासम्म पुग्न सकिन्छ । उक्त डाँडालाई हाइकिङको मार्ग नामकरण गरिएको छ । कैलाशडाँडामा शिवपार्वती र अन्य देवीदेवताको मूर्ति राख्ने कामको तयारी भइरहेको छ ।
अत्यन्त लजालु स्वभावको सालक विशेषगरी रातिको समयमा सक्रिय हुने गर्दछ । यसको मुख्य आहारा धमिरा र कमिला नै भएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले जानकारी दिनुुभयो ।
अति लजालु, संवेदनशील एवं शान्त वातावरणमा बस्न रुचाउने सालक मानवलाई हानि नगर्ने र मानव ‘इकोसिस्टम’लाई प्रभावकारी बनाउने प्राणीका रूपमा लिइने उहाँको भनाइ छ । सालकले एक वर्षमा सरदर सात करोड धमिरालगायत कीराफट्याङ्ग्रा खाने विज्ञहरू बताउँछन् ।
राष्ट्रिय निकुञ्ज ऐनले सालकलाई संरक्षित स्तनधारी प्राणीका रुपमा राखेको जानकारी दिँदै उहाँले सालकको संरक्षणका लागि कार्यालयले सामुदायिक वन उपभोक्तासँग मिलेर काम गरिरहेको बताउनुभयो ।
“सालकका लागि धमिरा र कमिला नै मुख्य आहारा हुने भएकाले डढेलो सालकको जीवनयापनका लागि प्रमुख चुनौती नै हो”, उहाँले भन्नुुभयो, “सालकको संरक्षणका लागि उनीहरूको बासस्थान सुनिश्चित गर्न डढेलो लाग्न नै नदिनका लागि सबैको सक्रियता आवश्यक हुन्छ ।”
एसियन तथा युरोपीय महाद्वीपमा चार प्रजातिका सालक पाइन्छन् । प्रायः समुद्री सतहदेखि दुई हजार मिटरसम्मको उचाइमा सालक पाउने गरिएको छ । रासस

























