Breaking News
ठेकेदारलाई दैनिक ५ हजार ४०० जरिवाना लगाउँदा पनि बलेन ट्राफिक लाइट

चितवन, साउन २६-
भरतपुरका मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्न ठडाइएका पोलहरु अलपत्र परेका छन् । बजार क्षेत्रलाई व्यवस्थित बनाउन ट्राफिक लाइट जडान गर्न खोजिएको थियो । तर, लामो समयदेखि ठेकेदार कम्पनीले ट्राफिक लाइट जडान गर्न सकेको छैन ।
ठेकेदारलाई दैनिक ५ हजार ४०० रुपैयाँ जरिवाना लगाउँदा पनि ट्राफिक लाइट बल्न सकेका छैनन् । मालपोत चोक, केन्द्रीय बसपार्क चोक, हाकिम चोक, चौविसकोठी, सहिदचोक र पुलचोकमा गाडिएका पोलहरु अलपत्र परेका छन् ।
ट्राफिक लाइट जडानको जिम्मा एभरेष्ट टुसी जेभीले पाएको हो । छ लेन सडकको एक्सप्रेस लेन र सर्भिस लेन दुवैमा ट्राफिक लाइट जडान गर्ने योजना रहेको छ । एक करोड आठ लाख रुपैयाँ लागतमा ट्राफिक लाइट जडान गर्न ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।
उसले पाएको म्याद गत चैत २० गते नै सकिएको हो । त्यसयता दैनिक रुपमा जरिवाना तिरिरहेको छ । जरिवाना तिर्न थालेको १२५ दिन भन्दा बढी भइसकेको छ । सार्वजनिक खरिद ऐन अनुसार ठेकेदारलाई २०० दिनसम्म जरिवाना तिराएर काम गराउन सकिन्छ । त्यसपछि पनि काम सम्पन्न नभए ठेक्का रद्ध गर्नेदेखि कम्पनीलाई कालोसूचीमा राख्नेसम्मका प्रक्रिया अघि बढ्छन् ।
सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख राकेश महर्जनका अनुसार ठेकेदार कम्पनीले अबको एक हप्ताभित्र ट्राफिक लाइट जडानको काम सुरु गर्ने बताएको छ । भारतबाट मगाएको ट्राफिक लाइट भन्सारमा आइपुगेको कम्पनीले बताएको छ । ट्राफिक लाइट आइपुगेपछि एक महिनाभित्र जडानको काम सम्पन्न गर्ने कम्पनीले दाबी गरेको छ ।

























