Breaking News
चितवनमा भूगोलका आधारमा पकाउने ग्यास वितरण गरिने, गुनासो सुन्न ‘क्विक रेस्पोन्स टिम’ गठन

चितवन, साउन २६-
जिल्ला प्रशासन कार्यालय चितवनले उपभोक्ताको गुनासो र ग्यासको उपलब्धतालाई ध्यानमा राख्दै भूगोलका आधारमा (क्लस्टर प्रणाली) खाना पकाउने ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ। २०८३ साउन २४ गते ग्यास उद्योगी तथा डिलरहरूसँग भएको छलफलपछि प्रशासनले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।
नयाँ व्यवस्था अनुसार जिल्लाको पश्चिम खण्ड (पश्चिम चितवन र माडी नगरपालिका), भरतपुर महानगरपालिकाका वडा नं. १, २, ३, ४ र २९, वडा नं. १०, ११ र १२ तथा वडा नं. ५, ६, ७, ८ र ९ का लागि छुट्टाछुट्टै १–१ दिन ग्यास वितरण गरिनेछ। पूर्वी चितवनका डिपोहरूमा भने साविकबमोजिम नै निरन्तर ग्यास वितरण हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
ग्यास कम्पनीहरूले जिल्लाका लागि तोकिएको कोटा अनुसार डिपोहरूमा ग्यास पठाउनेछन्। डिपोहरूले उपभोक्ताको विवरण अनिवार्य रूपमा राखी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउनुपर्नेछ। तोकिएको क्लस्टरभन्दा बाहिर आफूखुसी ग्यास बिक्री गर्न पाइने छैन। कुनै दिन ग्यास आपूर्ति हुन नसकेमा त्यसको भोलिपल्ट तोकिएको परिमाण र प्रक्रिया अनुसार नै वितरण गरिनेछ।
नियमित कार्यतालिका अनुसार ग्यास वितरण गर्दा तत्काल ग्यास आवश्यक पर्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा जिल्लाभित्र सञ्चालित आश्रमहरूका लागि विशेष व्यवस्था गरिएको छ। उनीहरूले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी नाम दर्ता गराउनुपर्नेछ। वडा कार्यालयले पहिचान प्रमाणित गरी जिल्ला प्रशासन कार्यालयको टोल फ्रि नम्बर १६६०५६५२००१ मार्फत सिफारिस गरेपछि ग्यास उपलब्ध गराइनेछ।
यस्तै, दुवै प्रक्रियाबाट ग्यास पाउन नसकेका उपभोक्ताका लागि हप्ताको एक दिन तोकिएको स्थानमा घुम्ती सेवामार्फत खुला रूपमा ग्यास वितरण गरिनेछ।
गुनासो सुन्न ‘क्विक रेस्पोन्स टिम’
ग्यास बिक्री तथा वितरणका क्रममा देखिने समस्या र गुनासो व्यवस्थापनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ। ग्यास सम्बन्धी कुनै सूचना, सुझाव वा गुनासो भएमा देहायका अधिकारीहरूलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
सहायक प्रजिअ चूडामणि शर्मा गौतमः ९८५५०८१७६८
प्रशासकिय अधिकृत मदन लामा थिङः ९८५५९२२००
प्रनानि याम प्रसाद सापकोटाः ९८४४०२९०४३
प्रशासनले उपभोक्ताहरूलाई आफ्नो नजिकको विक्रेतासँग सम्पर्क गर्न र आफ्ना लागि तोकिएको क्लस्टर बाहेक अन्यत्र ग्यासका लागि नधाउन अनुरोध गरेको छ।

























