राजनीति
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौँ, साउन २५ –
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका सम्पादकबीच सरकारी सूचना प्रवाह, शिक्षा सुधार तथा सरकार–सञ्चारमाध्यम सम्बन्धका विषयमा छलफल भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको छलफलमा सम्पादक तथा वरिष्ठ पत्रकारले सरकारी सूचना समयमै, सहज र पारदर्शी रूपमा सञ्चार माध्यमलाई उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।
उहाँहरुले प्रधानमन्त्री तथा अन्तर मन्त्रालयका गतिविधि, सरकारी निर्णय र नीतिगत विषयमा सञ्चार माध्यमको सहज पहुँच सुनिश्चित गर्न सरकारको सूचना प्रणाली थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ पत्रकारले रणनीतिक महत्त्वका नीतिगत निर्णय गर्नुअघि सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल र राय–सुझाव लिन सरकारलाई सुझाव दिनुभएको छ ।
छलफलमा शिक्षा प्रणाली सुधारका लागि विद्यालय शिक्षाको नीतिमा आवश्यक परिवर्तन गर्नुपर्ने विषय पनि उठेको थियो । सहभागीले विद्यालय तथा उच्च शिक्षालाई व्यावहारिक, वैज्ञानिक र जनमुखी बनाउन दीर्घकालीन नीतिगत सुधार आवश्यक रहेको जानकारी दिनभुयो ।
सरकारका प्रवक्ता समते रहनुभएका शिक्षामन्त्री पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
उहाँले सरकार लोकतान्त्रिक प्रक्रिया र प्रणालीबाट आएको भन्दै सरकारका काम कारबाही लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुने स्पष्ट पार्नुभयो ।
“वर्तमान सरकार एक्सनबाट होइन, प्रजातान्त्रिक प्रक्रियाबाट जनमत लिएर आएको हो । त्यसैले सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धता रहन्छ”, मन्त्री पोखरेलले भन्नुभयो, “जनताको आशा र भरोसालाई साकार पार्न अहोरात्र खटिएका छौँ ।”
उहाँले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई प्राथमिकता दिइएको बताउनुभयो । विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको दाबी गर्दै उहाँले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नीतिगत सुधार अघि बढाइएको जानकारी दिनुभयो ।
देश सञ्चार डटकमका सम्पादक तथा वरिष्ठ पत्रकार युवराज घिमिरेले सरकारी सूचना समयमै र पारदर्शी रूपमा सञ्चार माध्यमलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
हिमालय टेलिभिजन तथा अनलाइन खबरका समूह सम्पादक उमेश चौहानले जनताको भरोसा र जनमत प्राप्त सरकारले जनआकांक्षा पूरा गर्दै शिक्षा क्षेत्रमा रहेका बेथितिलाई नीतिगत रूपमा सुधार गर्नुपर्ने बताउनुभयो ।
सेतोपाटी डटकमका सम्पादक सुदीप श्रेष्ठले सरकारले गरिरहेका काम तथा सुधारबारे आमनागरिकले सहज रूपमा जानकारी पाउनुपर्ने बताउनुभयो । अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सरकार र सञ्चार माध्यमबीच निरन्तर संवादले सूचनाको सहजता बढाउनुका साथै दुवैबीचको दूरी कम गर्ने बताउनुभयो ।
कान्तिपुर दैनिकका प्रधानसम्पादक गोकर्ण अवस्थीले सूचना सहज रूपमा प्रवाह हुन नसके ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ को जोखिम बढ्ने बताउनुभयो ।
शिलापत्र डटकमका सम्पादक योगेश ढकालले विश्वविद्यालयप्रतिको विश्वासलाई संस्थागत रूपमा बलियो बनाउन आवश्यक नीतिगत परिवर्तन गर्नुपर्ने बताउनुभयो । पत्रकार बिनु सुवेदीले सरकार र सञ्चार माध्यमबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउँदै सूचना प्रवाह र जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालय तहको पाठ्यक्रममा व्यापक सुधार आवश्यक रहेको सुझाव दिनुभयो ।
द काठमाडौँ पोस्टका समाचार सम्पादक विनोद घिमिरेले सरकारी सूचना दिने प्रणालीलाई सरल र सहज बनाउनुपर्नेमा जोड दिनुभयो । शिक्षामन्त्रीका सल्लाहकार सरोज गौतमले छलफलको सहजीकरण गर्नुभएको थियो । रासस

























