प्रवास

पश्चिमी युरोपमा रेकर्ड गर्मी, जलवायु परिवर्तनको गम्भीर सङ्केत

Banner

पेरिस, साउन २५

जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गरेको छ । युरोपेली सङ्घ (इयु) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको नयाँ कीर्तिमान देखाएको हो ।

कोपर्निकसका अनुसार जुन–जुलाईमा पश्चिमी युरोपको संयुक्त औसत तापक्रम २१.६२ डिग्री सेल्सियस पुगेको थियो । यो सन् २०२२ को सोही अवधिमा कायम भएको अघिल्लो रेकर्डभन्दा बढी हो । यस वर्षको गर्मीमा लगातार उच्च तापक्रम र लामो समयसम्म कायम रहेको गर्मीको अवस्थाले असामान्य तातोको सङ्केत गरेको कोपर्निकसले जनाएको छ ।

युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको महाद्वीप हो । यस वर्षको गर्मीको सुरुवाती दुई महिनामा लगातार तातो हावा, उच्च तापक्रम, अत्यधिक सुक्खापन र खडेरी देखिएको छ । जुलाईमा पश्चिमी तथा मध्य युरोपका फ्रान्स, स्पेन, अस्ट्रिया र हङ्गेरीसहित बेलायत, आयरल्यान्ड तथा आइसल्यान्डका केही क्षेत्रमा समेत असामान्य रूपमा सुक्खा अवस्था देखिएको थियो ।

सन् २०२२ को गम्भीर खडेरीसँग तुलना गर्दा यस वर्ष जुलाईमा माटोको आद्र्रता अझ कम पाइएको कोपर्निकसले जनाएको छ । युरोपियन सेन्टर फर मिडियम–रेन्ज वेदर फोरकास्टकी सामन्था बर्गेसले गर्मी र खडेरीले एकअर्कालाई थप तीव्र बनाइरहेको बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनले चरम गर्मीलाई कसरी बढाइरहेको छ भन्ने पछिल्लो अवस्था त्यसको स्पष्ट उदाहरण हो ।

लामो समयको गर्मी र सुक्खापनका कारण युरोपका प्रमुख नदीमा समेत पानीको बहाव घटेको छ । सेन, राइन र डेन्युब नदीमा असामान्य रूपमा कम बहाव देखिएको छ । यसको असर जल यातायात, सिँचाइ तथा ऊर्जा उत्पादनमा परेको छ ।

तातो र सुक्खा मौसमले डढेलोको जोखिम पनि बढाएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनसँगै युरोपमा अत्यधिक डढेलो लाग्न अनुकूल मौसमको आवृत्ति बढिरहेको छ । फ्रान्स र स्पेनले यस गर्मीमा पछिल्ला दशककै गम्भीर डढेलोसँग जुधेका छन् । युरोपका अन्य मुलुकसँगै अमेरिकाको उत्तरपश्चिमी क्षेत्र र क्यानाडामा समेत गम्भीर आगलागीका घटना भएका छन् ।

– समुद्रको तापक्रम पनि उच्च –

कोपर्निकसका अनुसार जुलाईमा विश्वका महासागरको औसत सतह तापक्रम लगातार दोस्रो महिनासमेत रेकर्ड उच्च रह्यो । जुलाईमा विश्वव्यापी औसत समुद्री सतहको तापक्रम २०.९६ डिग्री सेल्सियस पुगेको थियो । जुन सन् २०२३ मा कायम भएको अघिल्लो रेकर्डभन्दा बढी हो ।

कोपर्निकसका निर्देशक कार्लो बुओन्टेम्पोले भूमध्यसागर र एटलान्टिक महासागरका केही भाग असामान्य रूपमा तातेको बताउनुभयो । उहाँका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको शक्तिशाली ‘एल निनो’ विश्वव्यापी समुद्री तापक्रम बढ्नुको प्रमुख कारणमध्ये एक हुन सक्छ ।

जलवायु वैज्ञानिक बुओन्टेम्पोले अगस्ट ५ मा पत्रकारहरूसँग कुरा गर्दै अहिलेको एल निनो निकै शक्तिशाली रहेको र यसको आकारका दृष्टिले असाधारण हुन सक्ने बताउनुभएको थियो । उष्णकटिबन्धीय प्रशान्त महासागरबाट आउने तापक्रमको प्रभाव विश्वव्यापी मौसम प्रणालीमा महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।

एल निनो प्राकृतिक जलवायु चक्रको न्यानो चरण हो । यस क्रममा उष्णकटिबन्धीय प्रशान्त महासागरको सतहको तापक्रम अस्थायी रूपमा बढ्छ र त्यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी, बाढी तथा अन्य चरम मौसमलाई प्रभावित गर्न सक्छ । जीवाश्म इन्धनको प्रयोगबाट पहिले नै तातिरहेको पृथ्वीमा एल निनोले थप ताप थप्ने गर्छ ।

एल निनो सामान्यतः वर्षको अन्त्यतिर बलियो हुने र समुद्रमा सञ्चित तापक्रम वायुमण्डलमा प्रवेश गराउँदा विश्वव्यापी तापक्रम अझ बढ्ने गर्छ । पछिल्लो एल निनोले सन् २०२३ र २०२४ लाई क्रमशः दोस्रो र सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो । वैज्ञानिकहरूले यस वर्षको अन्त्य वा सन् २०२७ को सुरुआतमा विश्वव्यापी औसत तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने अनुमान गरेका छन् ।

– तापक्रम वृद्धिको मुख्य कारण हरितगृह ग्यास –

विश्वव्यापी रूपमा गत जुलाई औसत सतह तापक्रम १.४७ डिग्री सेल्सियससहित संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई बनेको कोपर्निकसले जनाएको छ । यो तापक्रम सन् १८५०–१९०० को पूर्वऔद्योगिक औसतभन्दा १.४७ डिग्री सेल्सियस बढी हो ।

पछिल्ला ११ वर्ष रेकर्डमा सबैभन्दा तातो वर्षका रूपमा रहेका छन् । कोपर्निकसका निर्देशक बुओन्टेम्पोले मानव जीवनकालमा र सम्भवतः आधुनिक सभ्यताको इतिहासमै यस स्तरको न्यानो अवस्था नदेखिएको बताउनुभयो । उहाँका अनुसार तापक्रम वृद्धिको मुख्य कारण हरितगृह ग्यासको बढ्दो मात्रा हो ।

मानव गतिविधिबाट उत्सर्जित कार्बनका कारण उत्पन्न अतिरिक्त तापको ठूलो हिस्सा महासागरले सोस्ने भएकाले पृथ्वीको जलवायु प्रणालीलाई सन्तुलित राख्न महासागरको महत्त्वपूर्ण भूमिका रहन्छ । तर समुद्रको तापक्रम अत्यधिक बढ्दा त्यसले ग्रहमा गम्भीर प्रभाव पार्न सक्छ । तातो समुद्रले शक्तिशाली आँधी र भारी वर्षालाई बढावा दिनुका साथै समुद्री पारिस्थितिक प्रणाली तथा कोरल रीफमा ‘ब्लिचिङ’को समस्या निम्त्याउन सक्छ ।

कोपर्निकसले भूमि र समुद्रमा रहेका अरबौँ उपग्रह तथा मौसमसम्बन्धी मापनबाट तथ्याङ्क सङ्कलन गरी जलवायु अवस्थाको विश्लेषण गर्दै आएको छ । यसको तथ्याङ्क सन् १९४० सम्मको अवधिसम्म फैलिएको छ । एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>