कृषि

भरतपुरमा डेरी मार्टको चौँथो शाखा सञ्चालनमा, उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराइने

Banner

भरतपुर, साउन २५-

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सञ्चालन गरेको डेरी मार्टको चौँथो शाखा भरतपुर–१२ टाउन चोकमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय उपभोक्तालाई शुद्ध, ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले मार्टको विस्तार गरेको हो।

उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं. १२ का अध्यक्ष लेखराज पन्त (हरि)ले किसानहरूले उत्पादन गरेका दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा डेरी मार्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘हाम्रा स्थानीय किसानहरूले उत्पादन गरेका दूध तथा शुद्ध दुग्धजन्य उत्पादनहरूलाई सीधै उपभोक्तामाझ पु¥याउने यो प्रयास अत्यन्तै सराहनीय छ’, वडा अध्यक्ष पन्तले भने, ‘यसले किसानलाई उचित मूल्य दिलाउनुका साथै टाउन चोक र आसपासका स्थानीयवासीलाई शुद्ध एवं स्वास्थ्यवद्र्धक उत्पादन प्रयोग गर्ने अवसर प्रदान गरेको छ। यस कार्यमा वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहनेछ।’

कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानको हित र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर मार्ट सञ्चालनमा ल्याइएको बताए।

‘किसानले उत्पादन गरेको दूधको बजारीकरण सुनिश्चित गर्दै उपभोक्तालाई गुणस्तरीय एवं मिसावटमुक्त दुग्धजन्य पदार्थ उपलब्ध गराउनु हाम्रो मुख्य प्राथमिकता हो’, अध्यक्ष बगालेले भने, ‘यसअघि सञ्चालित शाखाहरूमा पाएको जनविश्वास र उत्साहजनक प्रतिक्रियाकै कारण भरतपुर–१२ टाउन चोकमा चौँथो शाखा विस्तार गर्न सफल भएका छौँ। आगामी दिनमा पनि गुणस्तरमा कुनै सम्झौता नगरी सेवा विस्तार गर्दै लैजानेछौँ।’

नयाँ सञ्चालनमा आएको डेरी मार्टमा किसानहरूबाट संकलित शुद्ध दूध, दही, घिउ, पनिर, नौनी लगायतका विविध दुग्धजन्य परिकारहरू उपलब्ध गराइएको संस्थाले जनाएको छ। डेरी मार्टमा नौनी घिउ प्रतिकिलो ९०० र घिउ प्रतिलिटर १२ सय रुपैयाँमा उपलब्ध गराएको छ ।

टाउन टोल विकास संस्थाको अध्यक्ष गायत्री श्रेष्ठले सर्वसुलभ र गुणस्तरमा विशेष ध्यान दिन सहकारी संघलाई आग्रह गरिन् । आफ्नो टोलमा आएर संघले डेरी मार्ट सञ्चालन गरेकामा उनले धन्यवाद पनि व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>