फोटो फिचर

४० करोड लगानीमा धमाधम पुनर्निर्माण हुँदैछ भैंसेपाटी मन्त्री आवास (फोटो)

Banner

काठमाडौँ, साउन २३ –

जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरुको सरकारी आवास करिब ४० करोड रूपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ ।

असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्रि आवरण ९इन्टेरियर०को काम जारी छ । पुनर्निर्माणको काम तीन चरणमा चलिरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण भुजेलले बताए ।

पहिलो चरणमा २७ मध्ये ११ वटा र दोस्रो चरणमा बाँकी १६ वटा भवनको पुनर्निर्माण गर्ने गरी गत वर्ष नै ठेक्का सम्झौता भएको थियो ।

११ वटा भवन कामका लागि ८ करोड ६० लाख र बाँकी १६ वटाका भवनको पुननिर्माणका लागि १५ करोड ४९ लाखमा सम्झौता भएको थियो । यसबाहेक भवनको भित्रि सजावट, फर्निसिङलगायत कामका लागि पनि करिब १५ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

पहिलो चरणको काम साउन मसान्तसम्म, दोस्रो चरणको काम भदौ २० सम्म र तेस्रो चरणको काम असोज मसान्तसम्म सक्नुपर्ने सम्झौता रहेको इन्जिनियर भुजेलले बताए ।

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।

वर्तमान सरकारका कतिपय मन्त्री निजी निवासमा बसेका छन् भने कतिपयले आफैं वैकल्पिक व्यवस्था गरेका छन् । यसैले पनि मन्त्रीहरुले आवास निर्माण समयमै सक्न ताकेता गरिरहेका छन् । त्यसैले पुनर्निर्माण सकिएका भवनको विद्युत, खानेपानीसहित इन्टेरियरको काम सकेर आवासको व्यवस्थापन गर्ने विकल्पमा पनि छलफल चलिरहेको उनले बताए ।

पुल्चोकस्थित पुरानो मन्त्री आवास साँघुरो भएपछि सरकारले २०७६ सालमा भैँसेपाटीमा नयाँ मन्त्री आवास निर्माण थालेको थियो । करिब ३ अर्ब लगानीमा निर्मित भवनमा २०८२ असारदेखि मन्त्रीहरु सर्न थालेका थिए । तर, प्रयोगमा आएको एक वर्षमै आन्दोलनमा सबै भवनमा आगजनीले क्षति पुग्यो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>