राजनीति
संविधान संशोधन गर्दा संविधानभित्रका संवेदनशीलता बुझ्नुपर्छः सभापति थापा

काठमाडौँ, साउन २२
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुनसक्ने भए पनि त्यस भित्रका संवेदनशीलता बुझ्नुपर्ने पर्नेमा जोड दिनुभएको छ ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै सभापति थापाले संविधान भित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानमा नागरिकले प्राप्त गरेका हकअधिकार बढाउनुपर्नेमा जोड दिनुभयो ।
सभापति थापाले कांग्रेस मुलुकको राष्ट्रिय पार्टी र राष्ट्रिय शक्ति भएको बताउँदै मुलुकमा ठूला सङ्कट आउँदा समाधान गर्ने र लोकतान्त्रिक आन्दोलन तथा संविधान सभाबाट संविधान जारी गर्नेसम्मका कार्य कांग्रेसको नेतृत्व मै सफलता प्राप्त भएको बताउनुभयो ।
सभापति थापाले भन्नुभयो, “लोकतन्त्रमा सरकार जति महत्वपूर्ण हुन्छ, प्रतिपक्ष पनि त्यति नै महत्त्वपूर्ण हुन्छ, प्रतिपक्षी दलका नाताले हामीले सरकारलाई निररन्तर खबरदारी गर्नुपर्छ ।” उहाँले लोकतन्त्रमा सबै नागरिक समान हुने र कानुन भन्दा माथि कोही पनि नहुदै बताउनुभयो ।
कार्यक्रममा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आदिवासी जनजातिको पहिचानसँग गासिएका हकअधिकारको रक्षाका लागि सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । ठूलो बलिदानीले लडेर ल्याएको आदिवासी जनजातिको पहिचानसँग जोडिएका संविधानको उपलब्धी जोगाउन सचेत हुनुपर्ने बताउनुभयो ।
नेता आङ्देम्बेले प्राप्त संवैधानिक अधिकार बचाएर लैजानुपर्ने र लोकप्रियताका नाममा यसलाई समाप्त पार्ने षड्यन्त्र हुनसक्ने उल्लेख गर्दै त्यस्ता प्रवृति तथा पात्रप्रति सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । नेता आङ्देम्बेले कांग्रेसले नै त्यो उपलब्धिलाई जोगाउन सक्ने विश्वास दिलाउँदै यी अधिकार पनि व्यवहारमा उतार्न पनि कांग्रेस नेतृत्वको आवश्यकता औँल्याउनुभयो । उहाँले आदिवासी, जनजाति, महिला, मधेसी, पिछडिएका सबै वर्ग र समुदायका आवाज सबैले बोल्नुपर्ने बताउनुभयो ।

























