देश/प्रदेश

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

Banner

काठमाडौँ, साउन २२-

प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मनसुनजन्य विपद्, स्वास्थ्य सेवा, सडक पूर्वाधार, खाना पकाउने ग्यासको आपूर्ति, सामाजिक सुरक्षा तथा कृषि क्षेत्रका विविध समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकमा सांसद इन्दिरा रानामगरले खाना पकाउने ग्यासको आपूर्ति यथाशीघ्र सहज बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद प्रेमलाल चौधरीले इलाम जिल्ला प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै जिल्लामा स्तरीय अस्पतालको अभाव रहेको बताउनुभयो । बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै उहाँले इलामको मयुखोलामा स्थायी पुल निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद टीका सङ्ग्रौलाले आर्यघाटमा विपन्न वर्गका नागरिकले अन्तिम संस्कार गर्नसमेत आर्थिक अभाव झेल्नुपरेको उल्लेख गर्दै शव दाहसंस्कारका लागि आवश्यक खर्च राज्यले निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद बदनकुमार भण्डारीले गत बुधबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुलीले क्यान्सरपीडित श्रीमती तिलकुमारी पराजुलीलाई पिँठ्युमा बोकेर सुनकोशी नदीमा हाम फालेको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँहरूको खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ तीव्र बनाउन सरकारसँग माग गर्नुभयो ।

सांसद शाहजान खातुनले मनसुनका समयमा तराई क्षेत्रमा बाढी र डुबानका कारण बर्सेनि धनजनको क्षति हुने गरेको उल्लेख गर्दै विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद धनबहादुर बुढाले डोल्पा र चीनबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन तथा यस वर्ष सञ्चालन हुनुपर्ने व्यापार मेलाका लागि चीन सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल तत्काल अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद सुशील खड्काले बाँदरको आतङ्कका कारण कृषक चिन्तित बनेको र युवा रोजगारीका लागि विदेशिन बाध्य भएको बताउनुभयो । बागलुङमा सुन्तलाखेतीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उहाँले बाँदर नियन्त्रणका लागि हेरालुको व्यवस्था गर्न तथा किसानलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद विश्वराज पोखरेलले पाकिस्तानमा पर्वतारोहणका क्रममा ज्यान गुमाएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद भीमकुमारी बुढामगरले पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद पार्वती विकले सामाजिक सञ्जालमार्फत हुने मानसिक हिंसा नियन्त्रणका लागि आवश्यक कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सागर भुसालले पर्वत जिल्लाको कुस्मा नगरपालिका–गजेडी क्षेत्रमा बाढी र पहिरोका कारण करिब ७० घरपरिवार उच्च जोखिममा रहेको उल्लेख गर्दै धेरै परिवार विस्थापित भइसकेको बताउनुभयो । उहाँले पहिरो व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो ।

सांसद कमल सुवेदीले सडक दुर्घटना न्यूनीकरणका लागि सडक सुधार, निगरानी वृद्धि तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद खगेन्द्र कर्णले सर्पदंशका घटनाको नियन्त्रण तथा उपचार व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक नीति तथा कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो ।

सांसद पारसमणि गेलालले कोशी नदीमा आउने बाढीका कारण उदयपुर क्षेत्रमा नदी कटान बढ्दै गएको र स्थानीयवासी त्रासमा रहेको उल्लेख गर्दै विपद् पूर्वतयारी र नदी नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद यशोदाकुमारी बरालले कर्णाली प्रदेशमा बाढी र पहिरोका कारण यात्रु तथा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको उल्लेख गर्दै जोखिम व्यवस्थापनका लागि प्रभावकारी योजना कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद प्रेमबहादुर बयक, क्षितिज थेबे, ठाकुरसिंह थारु, गजाला शमीम मिकरानीले विभिन्न समसामयिक विषयमा धारणा राख्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>