चितवन विशेष
११ केभीको नयाँ लाइनका जाेखिमयुक्त तार तत्काल हटाउन इन्टरनेट र केबल सेवा प्रदायकलाई आग्रह

चितवन, साउन १९-
नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुर क्षेत्रका विभिन्न सडकखण्डमा विद्युत् लाइनसँग छोइएका इन्टरनेट र केबलका तारहरू तत्काल व्यवस्थित गर्न सम्बन्धित इन्टरनेट सेवा प्रदायक तथा केबल टीभी व्यवसायीहरूलाई आग्रह गरेको छ।
आयोजनाले मङ्गलबार एक सूचना जारी गर्दै नयाँ ११ केभी (केभी) हाइ–भोल्टेज लाइनमा विद्युत् प्रवाह (चार्ज) गर्ने तयारी भइरहेकाले तारहरू व्यवस्थित नगरे गम्भीर दुर्घटना र धनजनको क्षति हुनसक्ने चेतावनी दिएको हो।
सूचना अनुसार पोखरा बसपार्कदेखि लीला चोक हुँदै पुलचोकसम्म हाल प्राधिकरणले निर्माण गरेको नयाँ ११ के.भी. लाइनको काम सकिएकाले भाेलि बिहान ७ बजेदेखि परीक्षण तथा विद्युत् प्रवाह गर्ने योजना रहेको छ।
उक्त नयाँ ११ केभी हाइ-भोल्टेज लाइनसँग केबल र इन्टरनेटका तारहरू छोइएका तथा क्रस भएकाले लाइन चार्ज गर्दा सर्ट भई आगोको झिल्का निस्कने, आगलागी हुने, केबल र नेटका तारहरूमा उच्च भोल्टेज प्रवाह भई घरबत्ती बल्ने, राउटर पड्किने तथा विद्युतीय उपकरणहरू खराब भई ठूलो धनजनको क्षति हुनसक्ने जोखिम रहेको आयोजनाले स्पष्ट पारेको छ।
यस विषयलाई गम्भीरतापूर्वक लिँदै बिना विलम्ब आफ्ना इन्टरनेट र केबलका तारहरू ११ केभी लाइनबाट उपयुक्त दूरी कायम हुने गरी व्यवस्थित गर्न आयोजनाले अनुरोध गरेको छ। सूचनालाई अटेर गरी कुनै अप्रत्याशित विद्युतीय दुर्घटना हुन गएमा त्यसको जिम्मेवार नेपाल विद्युत् प्राधिकरण नहुने समेत जनाइएको छ।
यसैगरी, विशाल चोकदेखि रमाइलो चोक, दिपेन्द्र चोक हुँदै बिरेन्द्र क्याम्पस चोकसम्मको नयाँ ११ केभी लाइन समेत आउँदो श्रावण २२ गते चार्ज गर्ने योजना रहेकाले सो क्षेत्रमा पनि तारहरू व्यवस्थित गर्न आग्रह गरिएको छ।
यस सम्बन्धी थप जानकारी आवश्यक परेमा आयोजनाका इन्जिनियर राजेन्द्र पौडेल (मोबाइल नं. ९८५५०२६०७२) सँग सम्पर्क गर्न सकिने आयोजना प्रमुख आनन्द सुवेदीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

























