राजनीति
इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छः मन्त्री श्रेष्ठ

काठमाडौँ, साउन १८-
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इञ्जिनियरको भूमिकामा निर्भर रहने बताउनुभएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालय जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आज आयोजित सेवामा नवप्रवेशी इञ्जिनियरलाई सम्बोधन गर्दै उहाँले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा समर्पित गर्ने ऐतिहासिक अवसर भएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, “प्रत्येक निर्णय, प्राविधिक सुझाव र हस्ताक्षर कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ ।”
राष्ट्रको विकास, सभ्यता र समृद्धिको इतिहास इञ्जिनियरको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको बताउँदै उहाँले सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलासय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार, औद्योगिक संरचना तथा आधुनिक सहरको निर्माण इन्जिनियरको दूरदृष्टि र क्षमता निर्भर रहने धारणा राख्नुभयो ।
मन्त्री श्रेष्ठले राष्ट्रसेवामा ज्ञानसँगै चरित्रको पनि उत्तिकै महत्त्व रहेकाले सरकारी सेवामा प्राविधिक दक्षताभन्दा पनि नैतिक साहस कहिलेकाहीँ अझ महत्वपूर्ण बन्ने बताउनुभयो ।
उहाँले देशले नयाँ पुस्ताका इञ्जिनियरबाट केवल प्राविधिक दक्षता मात्र नभई नवीन सोच, सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको उल्लेख गर्नुभयो । रासस



























