Breaking News
केही प्रदेशमा भारी वर्षाको जोखिम, कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ,साउन १८-
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक सरिसकेको छ। यसकै कारण अहिले देशभर साधारणतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशका पनि एक-दुई स्थानमा हल्का वर्षा जारी छ।
सोमबार दिनभर देशभर साधारणतया बादल लाग्ने देखिन्छ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरै स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनेछ।
यसैगरी बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा पानी पर्नेछ। मधेस प्रदेशका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ। गण्डकी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ।



























