Breaking News

प्रधानमन्त्री बालेन शाहसँग मधेसका नेताहरूको छलफल, सामाजिक सद्भाव कायम गर्न आग्रह

Banner

काठमाडौं, साउन १५ –

प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका नेताहरूसँग पछिल्लो समय देखिएको हिंसात्मक घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गरेका छन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा फैलिँदै गएको तनाव रोक्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।

महतोले केही दिनअघि आफूहरूले आठ बुँदे निर्णय गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जानकारी गराएको र आज प्रधानमन्त्रीलाई समेत त्यसबारे अवगत गराएको बताए ।

‘यो घटना मधेसमा आगोको रूपमा फैलिरहेको छ, त्यसलाई रोक्नुपर्छ । राज्यले रेस्पोन्स नगरेपछि यो रोकिँदैन,’ उनले भने ।

उनले कुनै पनि घटनाले साम्प्रदायिक स्वरूप लिन नहुने भन्दै सामाजिक सद्भाव कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । ‘मान्छे मान्छेबाट डराउने अवस्था समाजमा आउनु देशको हितमा होइन । सामाजिक सद्भावलाई कुनै पनि हिसाबले कायम गर्नुपर्छ,’ महतोले भने ।

उनले सरकारसँग यस विषयमा गम्भीर पहल गर्न आग्रह गर्दै हिजो गृहमन्त्रीबाट भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताए । ‘सम्झौता रद्दीको टोकरीमा नफाल्नुहोला,’ उनले आग्रह गरे ।

मधेसका अर्का नेताले पनि सामान्य विवादलाई साम्प्रदायिक द्वन्द्वको रूप लिन नदिन सरकार गम्भीर हुनुपर्ने बताए । उनले घटनाको समयमा नै सरकारी संयन्त्र सक्रिय नभएको भन्दै आलोचना गरे ।

‘कुनै एउटा व्यक्तिको झगडा साम्प्रदायिकतासम्म पुग्नु देशकै लागि घातक कुरा हो । यस विषयमा हामी अत्यन्त गम्भीर छौँ,’ उनले भने ।

उनका अनुसार यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग पनि छलफल भएको र आज प्रधानमन्त्रीसँग दुई घण्टाभन्दा बढी समय छलफल भएको थियो । उनले घटना भएको केही दिनपछि मात्रै सरकारको उपस्थिति देखिएको भन्दै समयमै प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

‘घटना घटेको भोलिपल्टै सरकार पुगेको भए सायद त्यो घटना सुनसरीबाट अन्य जिल्लामा फैलिने थिएन होला,’ उनले भने ।

उनले सामान्य विवादमा गोली चल्नु र त्यसबारे सरकारी निकायबाट फरक–फरक धारणा आउनुले थप आशंका सिर्जना गरेको बताए। तर पछिल्लो छलफलपछि धेरै विषय स्पष्ट हुँदै गएको उनको भनाइ थियो ।

यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले पहिलो पटक मधेस केन्द्रित दलहरूलाई बोलाएर छलफल गर्नु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन् ।

उनले सुनसरीमा भएको घटना र त्यसपछि फैलिएको हिंसाका विषयमा प्रधानमन्त्रीले छलफल आयोजना गरेको भन्दै यसलाई सकारात्मक रूपमा लिएको बताए ।

‘हामीले हिंसा रोकिने र सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौँ । यसलाई छिटपुट घटनाका रूपमा मात्र लिनुहुँदैन,’ राउतले भने ।

उनले संघीयता लगायतका विषयमा समेत छलफल भएको जानकारी दिँदै आफूहरूले दिएका सुझाव कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>