चितवन विशेष
सप्तगण्डकी क्याम्पसका सहप्राध्यापक लामिछानेलाई गणितमा विद्यावारिधी

चितवन, साउन १४-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस गणित विभागका सहप्राध्यापक बसन्तराज लामिछानेले काठमाडौँ विश्वविद्यालयबाट गणित विषयमा विद्यावारिधी गर्नुभएको छ । ‘नेपालको गणित शिक्षामा उपनिवेशिकताको प्रभाव’ विषयमा लामिछानेले सो उपाधि प्राप्त गर्नुभएको हो । उहाँले अनुसन्धानमा उपविेशिकताले पाठ्यक्रम, शिक्षण पद्धति र मूल्याङ्कन पद्धतिमा पारेको प्रभावलाई बहुभाषिक ढंगबाट विमर्श गर्नुभएको छ । यसले गणित शिक्षाको वर्तमान वहसमा नयाँ आयामा थपेको विज्ञहरुको विश्वास छ ।
भरतपुरको पटिहानीमा रहेको अमर माध्यमिक विद्यालयबाट विसं २०४८ सालमा एसएलसी उतीर्ण गर्नुभएको लामिछानेले विसं २०५६ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा विशिष्ट श्रेणीसहित शिक्षातर्फ नेपाल प्रथम हुनु भएको थियो । उहाँले प्रविणता प्रमाणपत्र तह र बीएड सप्तगण्डकी बहुमुखी क्याम्पसबाट अध्ययन पूरा गर्नुभएको थियो । सन् २०१९ मा काठमाडौ विश्वविद्यालयबाट एमफिल गर्नुभएका लामिछानेले राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलमा एक दर्जन बढी अनुसन्धानमूलक लेखहरु प्रकाशित गर्नुभएको छ । उहाँले ३० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनहरुमा आफ्नो अनुसन्धानमूलक खोजहरु प्रस्तुत गर्नुभएको छ । लामिछाने गणित शिक्षा परिषद् चितवनको पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
























