राजनीति
ज्ञानेन्द्र शाहको सन्देशः सामाजिक सद्भाव जोगाउन सबै नेपालीलाई एकताबद्ध हुन आग्रह

काठमाडौं,साउन १४-
पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी गरिएको सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न देश भएकाले यही विविधताभित्रको एकता नेपालको पहिचान र गौरव भएको उल्लेख गरेका छन् ।
सन्देशमा नेपाली समाज परापूर्वकालदेखि नै आपसी प्रेम, सद्भाव र सहअस्तित्वका साथ अघि बढ्दै आएको उल्लेख गर्दै कसैबाट पनि सामाजिक, धार्मिक वा सांस्कृतिक सद्भावमा खलल पुग्ने गतिविधि हुन नहुने बताएका छन् ।
पूर्वराजा शाहले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व तथा विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी क्षेत्र र तराईका विभिन्न भूभागसम्म फैलिएकोप्रति दुःख व्यक्त गरेका छन् ।
नेपाललाई सबै समुदायबीच सामञ्जस्य कायम रहेको देशका रूपमा चिनिने उल्लेख गर्दै उनले यस्ता अवाञ्छित घटना मुलुकको मौलिक मूल्य र मान्यताविपरीत रहेको बताएका छन् । सन्देशको अन्त्यमा उनले देशका जुनसुकै भूभागमा बसोबास गर्ने सबै नेपालीलाई एकताबद्ध भई मेलमिलाप र सद्भाव कायम राख्न आग्रह गर्दै अहिलेको आवश्यकता पनि यही भएको बताएका छन् ।
























