राजनीति
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली, साउन १३ –
कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाही मुगु जिल्ला सोरु गाउँपालिका–६ का बासिन्दा हुनुहुन्छ ।
आमा बिजुरा र पिता विक्रमबहादुर शाहीका जेठा सुपुत्रका रूपमा विसं २०२५ भदौ १६ गते जन्मनुभएका मुख्यमन्त्री शाहीले कक्षा एकदेखि तीनसम्म स्थानीय सोरुकोट प्राथमिक विद्यालय, कक्षा चारदेखि ७ जनज्योति निमावि नाथरपुर, ८ कक्षा मावि श्रीनगर हुम्ला, कक्षा ९ र १० जुम्ला अध्ययन गर्नुभएको थियो ।
विसं २०४४ मा चन्दननाथ मावि जुम्लाबाट प्रवेशिका परीक्षा ९एसएलसी० गरेपश्चात् उच्च शिक्षाका लागि उहाँ नेपाल ल क्याम्पस काठमाडौँमा भर्ना हुनुभयो । सोही क्रममा विसं २०४५ मा उहाँले अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो । नेकपा ९माले०को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट राजनीति सुरु गर्नुभएका उहाँ ल क्याम्पसबाट २०४७ सालमा कानुनमा प्रवणीता प्रमाण पत्र तह उत्तीर्ण हुनुभयो ।
उहाँ २०५४ मा नेकपा ९एमाले० एरिया कमिटी सचिव हुनुभयो । विसं २०५६ को आम निर्वाचनमा भएको झडपपछि नौ दिन उहाँले हिरासतमा बस्नुपर्यो । अस्थायी र स्थायी शिक्षकका रूपमा काम गर्नुभएका शाहीले १३ वर्षमा १६ विद्यालयमा अध्यापन गर्नुभएको थियो । उहाँ विसं २०५८ मा तत्कालीन नेकपा ९माओवादी० पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा पूर्णकालीन सदस्य हुनुभयो । त्यस क्रममा उहाँलाई पार्टीले दिएको जिम्मेवारी विभिन्न मोर्चामा रहेर पुरा गर्नुभयो । विसं २०५९ देखि २०६४ सम्मको अवधिमा शाही जिल्ला कमिटी सदस्य हुँदै पार्टी सचिवका रूपमा काम गर्नुभयो ।
विसं २०६५ पछि उहाँले पार्टीको जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्नुभयो । विसं २०६९ मा तत्कालीन नेकपा ९माओवादी० विभाजनपछि किरण वैद्य समूहमा लाग्नुभएका उहाँले विसं २०७० को संविधानसभा निर्वाचन बहिष्कारमा उत्रेपछि १८ दिन जेल पर्नुभएको थियो । विसं २०७१ मा प्रचण्ड नेतृत्वको पार्टीमा एकता भएयता नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।
उहाँ विसं २०७९ को प्रदेशसभा निर्वाचनमा मुगु निर्वाचन क्षेत्र ९ख०बाट निर्वाचित हुनुभयो । उहाँले यस अगाडि कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हाली सक्नुभएको छ । विसं २०८२ मा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० कर्णाली प्रदेशसभा दल नेताका रूपमा चयन हुनुभएको थियो ।
नेकपा (एमाले)को समर्थनमा मङ्गलबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेसँगै उहाँलाई नेपालको संविधान बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले आजै सपथ लिइसक्नुभएको छ ।
कर्णाली प्रदेशको पाँचौँ नवनियुक्त मुख्यमन्त्री शाहीले सुशासन, उत्पादन र रोजगारी दिने र गरिबी हटाएर कर्णालीको समृद्धिको यात्रालाई गन्तव्य पुर्याउन प्रमुख लक्ष्यकासाथ काम गर्ने अठोट गर्नुभएको छ । रासस

























