मकवानपुर

‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

Banner

वासुदेव पौडेल,

बागमती, साउन १३-

हेटौँडा उपमहानगरपालिका–१० गोरक्षेश्वर दिव्यधाम, राप्तीतटस्थित संस्कृत वेद विद्यालयले ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ भन्ने नारासहित अध्ययन–अध्यापनलाई अघि बढाएको छ ।

समाजमा संस्कार र संस्कृति हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा विसं २०५६ मा स्थापना भई सञ्चालन हुँदै आएको विद्यालयमा ५ कक्षादेखि ९ कक्षासम्म पठनपाठन भइरहेको छ ।

विद्यालयमा देशका पूर्वमेचीदेखि महाकालीसम्मका विभिन्न जिल्लाका ४० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो । हाम्रा हरेक संस्कार र संस्कृतिसँग संस्कृत शिक्षा प्रत्यक्ष रुपमा जोडिएको बताउँदै उहाँले संस्कार र संस्कृतिको जगेर्नाका लागि पनि संस्कृत शिक्षा अपरिहार्य भएको बताउनुभयो । संस्कृत शिक्षाको आवश्यकता र महत्वलाई दृष्टिगत गरी हेटौँडामा त्यो विद्यालय स्थापना भएको हो ।

अध्यक्ष थापाले भन्नुभयो, “वर्तमानमा संस्कृत भाषाको पुनः प्रयोग र महत्व क्रमिक रूपमा बढ्दै जान थालेको सन्दर्भमा यस विद्यालयमा संस्कृत वाङ्मयको उन्नयनका लागि ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ भन्ने नाराका साथ गुरुकुल सञ्चालन गरिँदै आइएको हो ।”

संस्कृत अध्ययन गर्ने विद्यार्थीले कर्मकाण्ड, ज्योतिष, भागवत वाचन आदि सीप तथा दक्षताले स्वदेश तथा विदेशमा समेत रोजगारी र आयआर्जनको राम्रो अवसर पाउने गरेका छन् ।

संस्कृत भाषाको संरक्षण एवं सम्वद्र्धन गर्ने मुख्य उद्देश्यका साथ विद्यालय स्थापना गरिएको गोरक्षेश्वर धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकालले जानकारी दिनुभयो ।

तत्कालीन समयमा संस्कृत भाषाप्रेमी एवं सामाजिक व्यक्तित्वहरूको पहलकदमीमा विद्यालय स्थापित भएको उहाँले बताउनुभयो । त्यस विद्यालय सुरुमा हेटौँडा उपमहानगरपालिका–६ चौघडाको वंशगोपाल मावि हुँदै हेटौँडा–भुवनेश्वर पशुपति मन्दिरलगायतका स्थानबाट स्थानान्तरण हँुदै २०५६ सालदेखि हेटौँडा १० गोरक्षेश्वर क्षेत्र विकास धाम, राप्ती तटमा स्थायी रूपमा स्थापित भएको हो ।

गोरक्षेश्वर धार्मिक वनको करिब पाँच कट्ठा जग्गा विद्यालयलाई उपलब्ध गराइएपछि भौतिक पूर्वाधारलगायतका काम अघि बढेको धामका महासचिव प्रकाश ढकालले जानकारी दिनुभयो ।

सहायक प्रधानाध्यापक सविन नेपालका अनुसार गुरुकुलीय पद्धतिअनुरूप पठनपाठन भइरहेको त्यस विद्यालयमा विद्यार्थीलाई छात्रवाससहित निःशुल्क खाने र बस्ने प्रबन्ध गरिएको छ । उहाँले भन्नुभयो, “संस्कृत भाषाको संरक्षण, सम्वद्र्धन, वेद, व्याकरण र कर्मकाण्डसम्बन्धी विधाको प्रवर्द्धन एवं संस्कृत शिक्षाको आवश्यकता र महत्वलाई हृदयङ्गम गर्दै संस्कृत वाङ्मयअन्तर्गत ज्ञान विज्ञानको प्रचारप्रसार गर्ने हाम्रो लक्ष्य छ ।”

संस्कृत भाषा साहित्यको अध्ययन, अध्यापन र खोजमा सहयोग पु¥याउने, कक्षा १२ सम्मको अध्ययन अध्यापन गराउन सहकार्य र सहयोग गर्ने, विद्यार्थीलाई सुसंस्कारमा राखी शिक्षा आर्जन गर्ने थलोका रूपमा विकास गर्ने तथा अनुशासित, मर्यादित संस्कृत वेद भाषाका दक्ष जनशक्ति विकास गर्नेलगायतका दीर्घकालीन सोचसहित विद्यालय अघि बढेको छ ।

विद्यालयमा संस्कृत वेद पुस्तकालय सञ्चालनसँगै योग तथा सङ्गीत कक्षा सञ्चालन, वसन्त पञ्चमी तथा सरस्वती पूजामा अक्षरारम्भ, संस्कृत आरम्भ, व्रतबन्ध आदिजस्ता कार्य सञ्चालन भइरहेको छ ।

नेपाल महर्षि फाउण्डेसन फर वैदिक कल्चरसँगको सहकार्यमा गुरुकुल प्रवर्द्धन एवं रुद्राभिषेक यज्ञसम्बन्धी अध्यापन पनि सञ्चालनमा छ ।

विद्यालयले विद्यालयमा अध्ययनरत बटुकलाई निःशुल्क आवास तथा भोजनलगायतका आवश्यकता परिपूर्तिका लागि रु एक करोडको अक्षयकोष स्थापनाको उद्देश्य राखेको छ ।

अक्षयकोष वृद्धिको उद्देश्यले आजीवन सदस्यता रु पाँच हजार १००, विशिष्ट सदस्यता रु १० हजार १०० र संस्थागत सदस्यताका लागि रु २० हजार १०० सहयोग रकम निर्धारण गरिएको छ ।

विद्यालयमा हाल करिब १०० आजीवन सदस्य छन् भने नारायणी यतायात व्यवसायी सङ्घ, सर्वोत्तम सञ्चिति सहकारी संस्था, पतञ्जलि योग समिति र उद्योग सङ्घ मकवानपुर पनि संस्थागत सदस्यका छन् ।

हेटौँडा उपमहानगरपालिकाले विसं २०८१ मा रु पाँच लाख बीउ पुँजी राखिदिएर सुरु गरिएको अक्षकोषमा हालसम्म करिब रु १८ लाख जम्मा भइसकेको छ ।

त्यस्तै विद्यालयमा अध्ययनरत बटुकलाई एक छाक भोजन गराउन चाहेमा रु पाँच हजार १०० र दुई छाक भोजन गराउन चाहेमा रु १० हजार १०० उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै पितृ उत्सव, पितृ स्मृतिमा वार्षिक एक पटक आजीवन ब्राह्मण भोजनका रु ५० हजार १०० तथा वार्षिक दुईपटक आजीवन ब्राह्मण भोजनका लागि रु एक लाख १०० सहयोग शुल्क लिने व्यवस्था मिलाइएको छ ।

रु एक लाखदेखि चार लाखसम्म आर्थिक सहयोग प्रदान गर्ने व्यक्तिको विद्यालयमा तस्बिर राखी नियमित वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने, रु चार लाखभन्दा माथि वा विद्यालयमा निर्माण हुने भौतिक विकास निर्माण गर्न चाहेमा त्यस्ता दाताको नाममा उक्त संरचनाको नामकरण गर्ने र वार्षिकोत्सव मनाउने उल्लेख गरिएको छ ।

विद्यालयका बटुकलाई कुनै धार्मिक कार्यमा घर वा संस्थामा निमन्त्रणा गर्दा वा लैजाँदा विद्यालयमा सहयोगबापत न्यूनतम रु एक हजार १०० सहयोग छुट्टै उपलब्ध गराउनुपर्ने विद्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>