फोटो फिचर
बर्खासँगै सुसाइरहेको भाङ्गे झरना (तस्बिरहरु)

रसुवा, ९ साउन –
सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ । त्यही भीरबाट उर्लिन्छ – भाङ्गे झरना ।
नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केहीबेर अड्याउँछ । पानीको बहाव बढेसँगै उत्तरगया गाउँपालिका–२ स्थित झरनाको चमक यतिबेला झनै बढेको छ ।
सडकसँगै रहेको र सहज पहुँचका कारण नुवाकोट, काठमाडौँ, धादिलगायत विभिन्न स्थानबाट पर्यटक भाङ्गे झरनाको अवलोकन गर्न पुग्ने गरेका छन् । यो झरना चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्डमा पर्छ । यो झरनाको उचाइ १ सय ८१ मिटर छ ।
०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदी बताउँछन् ।
दैनिक ३ देखि सय जनाको हाराहारीमा पर्यटक झरना हेर्न आउने गरेको उनले सुनाए । ‘शुक्रबार–शनिबार त अझै ५ सय जनासम्म आउनुहुन्छ । खान–बस्न पनि समस्या छैन । नजिकै होटेल र होमस्टे नै चलेका छन्,’ उनले भने ।
उनकाअनुसार चालु आर्थिक वर्षमा झरनाको पूर्वाधार व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारबाट ४० लाख रुपैयाँ विनियोजन भएको छ ।
झरनाबाट खसेको पानी तलपट्टि रहेको तलाउमा पुग्छ । पर्यटकहरू तलाउमा पौडिरहेको भेटिन्छन्। अग्लो भीरबाट झरेको झरनाको पानी त्रिशूली नदीमा मिसिन्छ।
मुख्यतः असार, साउन र भदौमा झरनामा पानीको बहाब निकै बढ्छ । यसपछि हिउँदसम्म क्रमशः पानीको बहाब घटेर झरना सुक्ने अवस्थासम्म पुग्छ । बर्खा सकिएपछि पानीको बहाव निकै घट्ने, कतिपय समयमा झरना सुक्ने भएकाले यसको आकर्षण पनि मौसमी रूपमा सीमित हुने गरेको छ ।
काठमाडौँको टोखाबाट करिब ७० किलोमिटर तथा नुवाकोट सदरमुकाम विदुरबाट करिब १८ किलोमिटर दूरीमा छ ।
पर्यटकको सुविधाका लागि झरना छेउको डाँडामा भ्यूपोइन्ट पनि छ ।
तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी



































