देश/प्रदेश
देश संकटमा छ, जनताले फेरि विकल्प खोजिरहेका छन्ः जयन्ती देवी राई

काठमाडौं, साउन ८-
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति जयन्ती देवी राईले देश वर्तमान समयमा गम्भीर संकटमा रहेको भन्दै जनअधिकार कमजोर बन्दै गएको टिप्पणी गरेकी छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै जनताले निरन्तर विकल्प खोजिरहेको बताइन् ।
उनले भनिन्, ‘साच्चिकै संकटमा छ यो देश । आज जनअधिकारहरू गुम्दैछन् । त्यसकारण हामीले सोच्नैपर्छ। आज हरेक जनताले विकल्प खोजेका छन् ।’
राईले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै २००७ सालमा जनताले अधिकारको पक्षमा भूमिका निर्वाह गर्ने शक्तिका रूपमा नेपाली कांग्रेसलाई रोजेको उल्लेख गरिन् । त्यसपछि २०४६÷४७ सालतिर पञ्चायती व्यवस्था अन्त्य र जनअधिकार सुरक्षाका लागि संघर्ष गरेका कारण जनताले कम्युनिष्ट शक्तिलाई रोजेको उनको भनाइ थियो ।
उनले २०६२÷६३ को जनआन्दोलनपछि पनि जनताले कम्युनिष्ट शक्तिमाथि विश्वास गरेको उल्लेख गर्दै, जहाँ कमरेड प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीलाई रोजेको बताइन् ।
उनले भनिन्, ‘२००७ सालमा पनि उनीहरुले विकल्प खोजे । त्यतिबेला जसले भूमिका निर्वाह गरेका थिए जनताको अधिकारको निम्ती नेपाली कांग्रेसलाई रोजे । त्यसपछि ४६, ४७ सालपछि पनि कम्युनिष्टलाई नै रोजे । त्यतिखेर पञ्चायत ढाल्नका निम्ती, जनअधिकार सुरक्षाको निम्ती कम्युनिष्टहरुले लडाई गरेका थिए । त्यसपछि ६२,६३ को जनआन्दोलनपछि फेरि उनीहरुले कम्युनिष्टलाई नै रोजे । जहाँ कमरेड प्रचण्डले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीलाई रोजे ।’
राईले अहिले पनि जनताले विकल्पको खोजी गरिरहेको दाबी गर्दै पुराना र नयाँ दुवै राजनीतिक शक्तिप्रति असन्तुष्टि बढ्दै गएको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘आज पुरानो पार्टी र नयाँ पार्टीको एजेण्डाको नाममा नयाँ पार्टीलाई रोजे, तर त्यो पनि टिक्नेवाला छैन । पुरानो पार्टीले ३५ वर्ष त चलाए, तर नयाँ पार्टी १०० दिनमै बहुत दुःखपूर्ण भएको छ ।’

























