मनोरञ्जन
दुई दशकदेखि कलायात्रामा सक्रिय कलाकार मुक्ति अधिकारी अब ‘डिम्पल गालैमा’ मार्फत दर्शकमाझ

नवलपुर, असार २७ –
नवलपुरको गैँडाकोट निवासी कलाकार मुक्ति अधिकारी दुई दशकभन्दा लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। चितवनको नारायणी कला मन्दिर, नारायणगढबाट नृत्य र अभिनयको औपचारिक प्रशिक्षण लिनुभएका अधिकारीले निरन्तर आफ्नो कला प्रस्तुत गर्दै दर्शक तथा स्रोतामाझ सक्षम कलाकारका रूपमा परिचित बन्न सफल हुनुभएको छ।
दुई दशकको कलायात्रामा उहाँले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ। साथै नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’ निर्माण गरेर चलचित्र क्षेत्रमा समेत आफ्नो योगदान दिनुभएको छ।
हाल कलाकार अधिकारी नयाँ म्युजिक भिडियो ‘डिम्पल गालैमा’ मार्फत दर्शकमाझ आउन लाग्नुभएको छ। उक्त गीतमा चर्चित कलाकार बिना राहुतले उहाँसँग अभिनय गर्नुभएको छ। म्युजिक भिडियोको छायांकन काठमाडौंको गोदावरी क्षेत्रमा सम्पन्न भएको निर्माण पक्षले जनाएको छ।
‘डिम्पल गालैमा’ बोलको गीत साउन २ गते कला हब युट्युब च्यानलबाट सार्वजनिक गरिने तयारी गरिएको छ।
म्युजिक भिडियोमा सौगात जङ थापा र सिम्रन परियारको स्वर रहेको छ भने निर्देशन जेरी भण्डारीले गर्नुभएको छ। अभिनयमा मुक्ति अधिकारी र बिना राहुतको मुख्य भूमिका रहेको छ।
निर्माण टिमका अनुसार गीत तथा भिडियोले मनोरञ्जनसँगै उत्कृष्ट दृश्य र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।





























