राजनीति
सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली

काठमाडौ, असार २६ –
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म पनि रोजगारी अवसर सृजना गर्ने कार्ययोजना समेत प्रश्तुत गर्न नसकेको दाबी गर्नुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रमुख सचेतक ओलीले देशमा रोजगारीको अवसर सृजना गर्ने भन्ने बाँचाका साथ बनेको सरकारले सोही कार्य गर्नका लागि हालसम्म पनि कार्ययोजना नै ल्याउन नसक्ने बिडम्वनापूर्ण भएको पनि बताउनु भयो । उहाँले वर्तमान सरकारले युवाहरुलाई देशमा बसेर केही गर्ने वातावरण समेत बनाउन नसकेको गुनासो गर्नुभयो । गणेश नेपाली मृत्यु प्रकरणलाई उद्धृत गर्दै प्रमुख सचेतक ओलीले वर्तमान सरकारले युवाहरुलाई पनि देश भित्रै केही गर्न सकिन्छ भन्नेकुरामा आशा जगाउन नसकेको बताउनु भयो ।
प्रमुख सचेतक ओलीले सरकारको कारण रोजगारीको अवसर सृजना गर्ने निजी क्षेत्र समेत निराश अवस्थामा पुगेको जिकिर समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल



























