चितवन विशेष
चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई भारतिय नागरिकको मृत्यु

भरतपुर, असार २६-
चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असार १७ गते राप्ती नगरपालिका–७ वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा बा ७१ प १८७२ नम्बरको मोटरसाइकललाई बा ७ च ७१३९ नम्बरको कारले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भारतको मोतिहारी, झाँझर घर भई हाल राप्ती–७ वीरेन्द्रनगर बस्दै आएका ३६ वर्षीय मुन्ना कुमार साह गम्भीर घाइते भएका थिए। उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा असार २५ गते चिकित्सकले मृत घोषणा गरेका हुन्।
उक्त घटनामा संलग्न कार चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ निवासी ३४ वर्षीय शम्शेरबहादुर हायुलाई इलाका प्रहरी कार्यालय भण्डारको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, असार १७ गते नै राप्ती नगरपालिका–८ खुरखुरेमा बा.प्र. ०३–००१ ज ४७८ नम्बरको ईभी भ्यानले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा भारतको बिहार राज्य, सीतामढी घर भई हाल खैरहनी नगरपालिका–६ पुरानो पर्सामा डेरा गरी बस्दै आएका करिब ३४ वर्षीय मोहम्मद बसु शेख गम्भीर घाइते भएका थिए। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा असार २५ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
यस घटनामा संलग्न ईभी भ्यान चालक राप्ती नगरपालिका–६ प्यारिढाप निवासी ३६ वर्षीय कृत्यबहादुर तामाङलाई पनि इलाका प्रहरी कार्यालय भण्डारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।



























