Breaking News

चितवनका किशोरले विदेशमा लाखौंको जागिर छाडे, गाईपालनबाटै वार्षिक ५० लाख आम्दानी

Banner

चितवन, असार २५-

रत्ननगर नगरपालिका–१२ स्थित जिरौनाका किशोर बगाले दुबईको एक कम्पनीमा सुपरभाइजर थिए । २०७० सालअघि उनको एक लाख रुपैयाँभन्दा बढी तलब थियो। कम्पनीले फेमेली भिसा दिने तयारीसमेत गरेको थियो, तर राम्रो कमाइ र सुविधाको अवसर हुँदाहुँदै पनि उनले त्यहाँ बस्ने मन बनाएनन्। १० वर्ष काम गरेपछि स्वदेश फर्किए।

स्वदेशमै गाई पालन गर्ने बगालेको हुटहुटी थियो। घर आएपछि उनले गाई पालन व्यवसाय सुरु गरे। ‘विदेशमा पनि राम्रो कमाइ थियो। फेमेली भिसा दिन्छु भन्दा पनि मनले मानेन’, बगालेले भने, ‘त्यहाँ सुपरभाइजर हुँदा पनि नेपालमा गाई फर्म खोल्ने सोचका साथ फर्किएँ।’

२०७० सालमा नेपाल फर्किएका बगालेले सोही वर्षबाट व्यावसायिक रूपमा गाई पालन व्यवसाय सुरु गरे। सात लाख लगानी गरेर १० वटा गाई पालन व्यवसाय सुरु गरेका बगाले अहिले चितवनकै उत्कृष्ट किसानमध्येमा पर्दछन्। अहिले उनका फार्ममा ५१ वटा गाई छन्। चारजनालाई रोजगारीसमेत दिएका छन्।

बगालेले दैनिक चार सय लिटर दुध बेच्दै आएका छन्। मासिक साढे ६ लाखको हाराहारीमा दुध बिक्री गर्दछन्। ‘एक लाख रुपैयाँ कर्मचारीका लागि खर्च हुन्छ, घाँस, दाना, औषधी उपचार बिजुलीमा दुई लाखको हाराहारीमा खर्च हुन्छ’, उनले भने, ‘तीन लाख हाराहारी त दुध बेचेरै आम्दानी हुन्छ।’

उनले जयमंगला दुग्ध उत्पादक सहकारी संस्थामा दुध बिक्री गर्दै आएका छन्। बगालेलाई परिवारको पनि दरिलो साथ छ। श्रीमती दुर्गा पुडासैनी बगालेले पनि सघाएकी छन्। कर्मचारीसँग उनीहरू सँगसँगै काममा खटिन्छन्। १६ वर्ष शिक्षण पेसा गरेकी बगालेले गाई पालन व्यवसायबाट राम्रो आम्दानी हुने देखेपछि श्रीमान्लाई सघाउन थालेकी हुन्। ‘हामी पतिपत्नी गोठमा नै खटिन्छौं। बुबाले समेत हामीलाई सहयोग गरिरहनुभएको छ’, बगालेले भने, ‘अहिले हाम्रो परिवार गाई पालनमा नै समर्पित छ।’

बगालेले गाई तथा बाच्छीसमेत बिक्री गर्ने गर्दछन्। यसरी वर्षमा ५० लाखको हाराहारीमा आम्दानी गर्दै आएको उनले बताए। ‘घाँसका बेर्ना र घाँस उत्पादन गरेर समेत बेच्ने गरिन्छ। बाच्छाहरू बिक्री हुन्छन्। सहकारीबाट बोनससमेत आउँछ’, उनले भने, ‘वार्षिक ५० लाख कमाउन विदेश जानु पर्दैन। नेपालमै व्यवसाय गर्ने हो भने कमाउन सकिन्छ।’ उनले घासँमा आधारित गाई पालन गरेका छन्। उनको गोठमा परालसमेत छैन। घाँस खेतीका लागि चार बिघा जमिन भाडामा लिएका छन्।

बगालेका गोठमा गाईसमेत मोटामोटा छन्। उनले गोठलाई प्रविधिमैत्री बनाएका छन्। घाँस हाल्ने ठाउँ। अटोमेटिक वाटर ड्रिङ्कर, मलमूत्र व्यवस्थान राम्रो छ। मोटरले नै मलमूत्र बारीमा लिएर जाने व्यवस्था गरेका छन्।

अहिले उनको फर्म हेर्न नेपालका विभिन्न जिल्लाबाट किसान तथा कर्मचारी आउने गर्दछन्। ‘यो फर्म हेर्न विगतमा कृषिमन्त्री, कर्मचारी तथा मकवानपुर, रुपन्देही, बर्दियादेखि गोरखा, कास्कीलगायतका जिल्लाबाट आइरहनुभएको छ’, उनले भने।

गाई फर्म विस्तारका लागि बगालेलाई सरकारी निकायले समेत सहयोग गरेको छ। ‘सुरुवाती चरणमा गोठ सुधार कार्यक्रममा अनुदान प्राप्त भएको थियो। अहिले सरकारी निकायबाट दुधमा उत्पादनमा आधारित अनुदान प्राप्त भइरहेको छ।’

दुग्ध उत्पादन गर्दै जाँदा उनले थुप्रै चुनौती व्यहोर्नुपर्नेसमेत भयो। त्यसको समाधानका लागि उनी चितवन दुग्ध उत्पादक सहकारी संघमा आबद्ध भए। संस्थामार्फत किसानहरूको समाधान गर्न सकिने बुझेका बगाले गाई पालन व्यवसाय सुरु गरेको छोटो अवधिमै सचिव पदमा निर्वाचित भए। २०७५ सालमा सचिव भएका बगालेले किसानका समस्यालाई राष्ट्रिय स्तरमा लगेर समाधान गर्ने काममा खटिए। दुध बिक्री नहुने समस्या भइरहँदा उनी सडकमा समेत उत्रिए। विभिन्न अभियान चलाएर भुक्तानी दिलाउनका लागि अग्रसर भए।

२०७९ सालमा संघको अध्यक्षको अध्यक्ष भएपछि बगालेले संघमार्फत डेरी उद्योग तथा दुग्धजन्य परिकारको बिक्री कक्षको सुरुवात गरे। अहिले जिल्लाका १२ स्थानमा दुग्धजन्य बिक्री कक्ष छन्। डेरी उद्योग सञ्चालनमा छ। त्यहाँबाट घिउ, नौनी, पनिर, खुवालगायतका डेरीजन्य वस्तु उत्पादन हुन्छ। तीन ठाउँमा डेरी मार्टसमेत सञ्चालित छ।

बगालेले विभिन्न संघसंस्थासँग मिलेर जिल्लाका किसानलाई क्षमता अभिवृद्धि गराउने कामसमेत गरेका छन्। अहिले हेपोप्रोजेक्ट नेपालसँग सहकार्य गरेर संघले किसानलाई तालिम प्रदान, सहकारीमा टिभी वितरण, घाँसको बेर्ना वितरण तथा यन्त्र उपकरणसम्बन्धी तालिम प्रदान गरिरहेको छ। ६ वटा डेरीमा नमुना दुध संकलन स्थापनासमेत गरिएको छ। संघमार्फत होलिस्टेन बच्चा वितरण गर्नुका साथै मुर्रा जातका भैंसीसमेत किसानलाई प्रदान गरिएको उनले बताए।

चितवन जिल्ला दुधमा पूर्णरूपमा आत्मनिर्भर रहेको छ। संघमा एक सय १५ वटा दुग्ध सहकारी रहेका छन्। त्यसमा ४० हजारभन्दा बढी किसान आबद्ध रहेको उनले बताए। जिल्लामा दैनिक साढे तीन लाख लिटर दुध उत्पादन हुँदै आएको छ। एक लाख ५० हजार लिटर दुध जिल्लामा खपत हुन्छ भने बाँकी बाहिरी जिल्लामा बिक्री हुँदै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>