देश/प्रदेश
सरकारलाई रास्वपा सांसदले भनिन्– किसानको आँसुको व्यापार नगर्नुस्

काठमाडौं, असार २५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नुपरेको बताएकी छन् । बिहीबार (असार २५) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।
उनले ‘हनहनी ज्वरो आउँदा समेत सिटामोलभन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन ?’ भन्दै प्रश्न गरिन् । किसानको आँसुको व्यापार नगर्न पनि उनले सरकारलाई सचेत गराइन् ।
सांसद करिश्मा कठरियाको भनाइ पढ्नोस्–
हनहनी ज्वरो आउँदा समेत सिटामोलभन्दा पहिले मल चाहियो भन्दै रुने किसानहरूको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन, सभामुख महोदय ? हाम्रा अन्नदाताहरू भनिरहेका छन्– बरु, ज्वरो सहौँला, रोग सहौँला, तर भोक र खेतको खडेरी सहँदैनौँ । जति मूल्य पनि तिर्न तयार छौँ, तर मल मिलाइदेऊ सरकार । सरकार भन्छ– गोदाममा मल छ, तर किसान सोच्छन् त्यो मल खेतमा किन छैन ? यो त किसानको आँसुको व्यापार गरेको जस्तो भएन र, सभामुख महोदय ? मल समेत दिन नसक्ने तिमीहरूलाई जिताएर के भयो ? भन्दै किसानहरूले दैनिक सयौँ फोन गर्दा पीडा भइरहेको छ, सभामुख महोदय । किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महसुस भएको छ, सभामुख महोदय । सरकारले तत्काल अन्नदाता किसानहरूसँग क्षमायाचना गरोस्, सत्यतथ्य बताई विकल्प र राहत प्रस्तुत गरोस् । कृषिप्रधान भनिने देशका किसानका लागि सिटामोलभन्दा रासायनिक मल महत्त्वपूर्ण नबनोस् । न्युज एजेन्सी नेपाल



























