Breaking News

अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम

Banner

काठमाडौँ, असार २४ –

मौसमविद्ले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था रहने, अचानक अत्यधिक वर्षा हुने, आकस्मिक बाढी, पहिरो तथा हिमनदीसँग सम्बन्धित जोखिम बढ्नसक्ने चेतावनी दिनुभएको छ ।

पाकिस्तान र भारतका विभिन्न स्थानमा विनाशकारी बाढी तथा बादल फाटेर उत्पन्न भएका विपद्का घटना जारी रहेकाले हिन्दूकुश हिमालय -एचकेएच_ क्षेत्रका समुदायले यस वर्षको मनसुनमा मौसमीय प्रवृत्तिको सामना गर्नुपर्ने मौसम पूर्वानुमानकर्ताले चेतावनी दिएका हुन् ।

पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा हालै बादल फाटेर आएको छ । भारतको अरुणाचल प्रदेशमा अत्यधिक वर्षाका कारण आएको बाढीपछि मौसम विशेषज्ञले सचेत गराएका हुन् । मनसुन पूर्वानुमान २०२६ ले हिन्दूकुश हिमालय क्षेत्रका अधिकांश भागमा मौसमी वर्षा सामान्यभन्दा कम रहने प्रक्षेपण गरेको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का विपद् जोखिम न्यूनीकरण विशेषज्ञ सस्वता सन्यालले मौसमी वर्षा कम हुनु भनेको बाढीको जोखिम पनि कम हुनु हो भन्नुभयो ।

“मौसमी पूर्वानुमानले केही महिनाको औसत अवस्थालाई देखाउँछ, कुनै एक उपत्यकामा के हुन्छ भन्ने होइन । ‘एल निनो’को प्रभावमा लामो सुक्खा अवधिबीच स्थानीय रूपमा हुने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्छ”, उहाँले भन्नुभयो ।

मनसुन असमान हुने र पूर्वानुमान गर्न कठिन बन्दै गएको छ । लामो समयसम्म सुक्खा अवस्था रहँदा कृषि र पानी आपूर्तिमा दबाब बढिरहेको छ । छिटपुट अत्यधिक वर्षाका घटनाले जनजीवन र पूर्वाधारलाई निरन्तर जोखिममा पारिरहेका छन् ।

सामान्यभन्दा बढी तापक्रमले सिन्धु, गङ्गा र ब्रह्मपुत्र नदी प्रणालीका हिमनदी–आधारित नदी बेसिनमा जोखिम अझ बढाउने अनुमान गरिएको छ । बढ्दो तापक्रमले हिमनदी र हिउँ पग्लिने प्रक्रिया तीव्र बनाउँछ, जसले नदीमा थप पानी बढ्छ । यसले पहाडी भिरालो भूभाग तथा हिमताललाई अस्थिर बनाउँछ ।

जलविज्ञ मनिष श्रेष्ठले पाकिस्तानको ‘थोरे’ उपत्यकामा हालै आएको बाढीले हिन्दूकुश हिमालय क्षेत्रको जोखिम देखाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अत्यधिक वर्षा, हिमनदी पग्लिनु, अस्थिर भिरालो जमिन र तीव्र गतिमा बढ्ने नदी एकअर्कासँग मिलेर शृङ्खलाबद्ध विपद् सिर्जना गर्न सक्छन् । तयारी पनि संयुक्त जोखिमलाई ध्यानमा राखेर गर्नुपर्छ, प्रत्येक जोखिमलाई अलग रूपमा हेरेर होइन ।”

जलवायुविज्ञले यस्तो अवस्थामा सरकारले खडेरी, अत्यधिक गर्मी, आकस्मिक बाढी, पहिरो र हिमनदीसम्बन्धी जोखिमलाई छुट्टाछुट्टै नभई एकीकृत रुपमा सामना गर्न तयारी गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ ।

नेपाल, भारतका उत्तरी तथा उत्तर–पूर्वी क्षेत्र, पाकिस्तान र अन्य जोखिमयुक्त पहाडी क्षेत्रका नदी किनार, ठाडो ओराले भूभाग तथा तीव्र रूपमा विस्तार भइरहेका सहरी क्षेत्रमा विशेष ध्यान दिन आवश्यक छ ।

मनसुनका अझै धेरै हप्ता बाँकी रहेका छ । मौसमविज्ञका अनुसार सबैभन्दा ठूलो जोखिम भनेको कम वर्षा हुने दिनलाई कम विपद्को सङ्केत ठान्नु हो । यस वर्षको मनसुनले खडेरी र बाढी दुवैका लागि एकैसाथ तयारी गर्नुपर्ने आवश्यकता देखाएको छ ।

इसिमोडका जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख नीरा श्रेष्ठ प्रधानका अनुसार हिमाली समुदायले लामो समयदेखि प्रयोग गर्दै आएको वैज्ञानिक पूर्वानुमान र स्थानीय ज्ञानलाई एकसाथ संयोजन गर्नु आवश्यक छ । “भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती यस मनसुनमा बढी जोखिममा रहने स्थानमध्ये पर्दछन्”, उहाँले भन्नुभयो ।

नदी प्रणाली र राष्ट्रिय सीमापार फैलिने जोखिम व्यवस्थापनका लागि सीमापार पूर्वसूचना प्रणाली तथा सूचना आदनप्रदानलाई सुदृढ बनाउनु आवश्यक हुँदै गएको मौसम पूर्वानुमानकर्ताले सुझाव दिएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>