चितवन विशेष
हात्तीको आक्रमणमा ज्यान गुमाएकाको परिवार भेट्न मन्त्री गौतम चितवनमा

भरतपुर,असार २१-
कानुनमन्त्री तथा चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य सोविता गौतमले भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको छ । शनिबार मध्यराति करिब ११ बजे जंगली हात्ती पूर्ण बोटेको घरमा प्रवेश गरी आक्रमण गर्दा उहाँकी श्रीमती २५ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका क्रममा हात्ती धपाउन पूर्ण बोटेले आगो बाल्ने प्रयास गर्दा कच्ची घरमा समेत आगलागी भएको थियो । स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा आगो नियन्त्रणमा लिएका थिए । शोकसन्तप्त परिवारलाई सान्त्वना दिँदै मन्त्री गौतमले अत्यन्तै दुःखद घटना भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो ।
उहाँले मानव–वन्यजन्तु द्वन्द्व नयाँ समस्या नभई वर्षौंदेखि दोहोरिँदै आएकाले यसको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर रहेको बताउनुभयो । यस्ता घटना विगतमा पनि भएका छन्, अहिले पनि भइरहेका छन् र भविष्यमा पनि दोहोरिन सक्छन् । त्यसैले दीर्घकालीन समाधानका लागि हामी अझ बढी सचेत हुनुपर्छ, मन्त्री गौतमले भन्नुभयो । उहाँका अनुसार वन्यजन्तुको गतिविधि प्रविधिमार्फत निगरानी गर्ने, ट्रयाकिङ प्रणालीलाई प्रभावकारी बनाउने, निकुञ्ज, स्थानीय सरकार र सरोकारवालाबीच समन्वय बढाउने तथा वन्यजन्तुको सुरक्षित बासस्थान व्यवस्थापन गर्ने विषयमा अध्ययन भइरहेको छ । जनावर पनि जोगिनुपर्छ, मानिस पनि सुरक्षित रहनुपर्छ । यसको उपयुक्त समाधानका लागि सबै सरोकारवाला एक ठाउँमा बसेर दीर्घकालीन योजना बनाउन आवश्यक छ, उहाँले भन्नुभयो । मृतक परिवार अल्पसंख्यक बोटे समुदायका हुन् ।
घटना पछि शनिबार राती नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समुदाय बीच छलफल भएको छ । सरोकारवाला विचको छलफलपछि चार बुदे सहमति गरेको वडा अध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो । निकुञ्जसङ्ग भएको सहमति अनुसार हात्तीलाई तत्काल नियन्त्रण लिन आवस्यक काम गर्ने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको घर निर्माण गराउने र मानव बन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल आवस्यक काम गर्ने रहेको वडा अध्यक्ष दवाडीले बताउनुभयो ।



























