चितवन विशेष
चित्रले सिंगारिदै भरतपुर वडा नं.१ का पर्खाल र गमला

चितवन, असार २०–
शहरलाई सफा, सुन्दर र हरियाली बनाउन चितवनको भतपुर महानगरपालिका वडा नं.१ ले पर्खाल र गमलाहरुमा चित्र कोर्न थालेको छ ।
स्थानीय टोल विकास संस्थाहरुको सहकार्यमा वडाले सार्वजनिक पर्खाल, बिरुवा रोपिएका ठूला–ठूला गमलामा चित्र कोर्न थालेको हो । वडा अध्यक्ष केशव महर्जनले कुरुप देखिने भित्ता र गमलाहरुमा विभिन्न किसिमका चित्रहरु कोर्न थालिएको बताए । सभ्य र सुसँस्कृत समाजका लागि चित्रलेखन कतिको महत्व हुन्छ भन्ने यो प्रयासले देखाएको उनको भनाई छ । उनले आगामि आर्थिक वर्ष २०८३÷८४ मा सार्वजनिक भित्ता र गमलाहरुमा आकर्षक चित्रहरु कोरिने बताए । त्यसका लागि बजेट समेत विनियोजन भइसकेको उनले जानकारी दिए ।
वडा कार्यालयले नारायणगढको लायन्सचोकदेखि बालकुमारी कन्या मावि रोड र नमस्ते चोकतर्फको भित्ता र गमलामा चित्र कोर्न ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही अनुसार सो ठाउँका सार्वजनिक भित्ता र ३५ वटा गमलामा ‘आइ लभ नारायणगढ’, नेपालको झण्डा, नेवार समुदायको पहिचान झल्किने ‘कुमारी’ र विभिन्न वन्यजन्तुहरुको चित्र कोरिएको छ ।
विद्यालयको पर्खालहरुमा विद्यार्थीसंग सम्बन्धित चित्रहरु समेत कोरिएका छन् । वडा कार्यालयले यसअघि दियालो रोडका गमलाहरुमा यसरी नै आकर्षक चित्रहरु कोरेको थियो । ‘यसअघि केही सार्वजनिक स्थानहरुमा कोरिएका यस प्रकारका चित्रकलाबाट सबैले सकरात्मक प्रतिक्रिया दिनुभयो । त्यसले हामीलाई पनि हौसला मिलेको छ । आगामि दिनमा अन्य ठाउँका पर्खालहरुमा पनि यसरी नै चित्र कोर्छौ’–वडा अध्यक्ष महर्जनले भने ।
यस कार्यलाई सफल बनाउन टोल विकास संस्थाहरुको अह्म भूमिका रहेको छ । बालकुमारी रोड टोल विकास संस्थाका सचिव आशिक मियाँले सामान्य चित्रलेखने सडक किनारको छुट्टै रौनकता थपिएको बताए । उनले वडाको बजेटलाई सही सदुपयोग गर्न टोल विकास संस्थाहरुले सकरात्मक भूमिका खेलेको बताए ।
































