राजनीति
‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’: मुख्यमन्त्री शाह

सुदूरपश्चिम, असार २० –
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । धनगढीमा आज आयोजित ‘द लास्ट माइल हेल्थ समिट–२०८३’ को उद्घाटन गर्दै उहाँले जनताको आधारभूत आवश्यकताका रूपमा रहेको स्वास्थ्य सेवा सुधार र गाउँ–गाउँमा स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहले आफूले सुदूरपश्चिमका पाँच वटा आधारभूत अस्पताललाई प्रादेशिक अस्पताल बनाउने नीतिअनुसार दुई वटा अस्पताललाई स्तरोन्नति गरिसकिएको र तीन अस्पताल प्रक्रियामा रहेको जानकारी दिनुभयो । “म नेतृत्वमा आएपछि यहाँका पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने घोषणा गरेको थिए । त्यसअनुसार दुई वटा स्तरोन्नति भइसकेका छन्, बाँकी प्रक्रियामै छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कैलालीको टीकापुर, सेती र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी १०० शय्या र जिल्ला अस्पतालहरूलाई २५–५० शय्यामा स्तरोन्नति गर्ने योजना समेटिएको छ । त्यसले विशेषज्ञ सेवा विस्तारमा उल्लेख्य टेवा पुग्ने छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।
प्रादेशिक अस्पतालहरूमा मृगौला रोगको उपचारका लागि डायलाइसिस सेवा विस्तारको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले बिरामीको चाप र जनताको आवश्यकतालाई मध्यनजर गर्दै सूचना तथा प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने बताउनुभयो ।
कार्यक्रममा आर्थिक मामिलामन्त्री बिक्रमसिंह धामीले सीमित स्रोतसाधनका बाबजुत पनि सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तारमा काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि सरोकार भएका सबै क्षेत्रको प्रभावकारी भूमिका आवश्यक रहेको र त्यसमा सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रदेशमा सञ्चालित डिजिटल स्वास्थ्य प्रणालीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले प्रदेशका २० वटा नगरपालिकामा स्मार्ट हेल्थ किट, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा विद्युतीय स्वस्थ्य अभिलेख प्रणालीलगायत प्रविधिको प्रयोग र अछाम जिल्लाका पालिकाहरूमा सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।
जनस्वास्थ्य प्रशासक मलासीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति’ भन्ने नारासहित विशेषज्ञ चिकित्सा सेवाको पहुँच बढाउन ‘टेलिहेल्थ’ लगायत कार्यक्रम सञ्चालन गर्ने नीति रहेको जानकारी दिनुभयो । “ग्रामीण समुदायमा विशेषज्ञ चिकित्सा सेवाको पहुँच बढाउन स्वास्थ्य क्षेत्रमा डिजिटलाइजेसनको नीतिअनुसार एकीकृत ड्यासबोर्ड, इलेक्ट्रोनिक परिवार स्वास्थ्य प्रोफाईल, टेलिमेडिसिन, जिआइएस कोडिङ्गलगायत सेवाको थप विस्तार र सुदृढीकरण गर्दैछौँ”, उहाँले भन्नुभयो ।
बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका तथा स्मार्ट हेल्थ ग्लोबलको संयुक्त आयोजनामा समिट भएको हो । त्यस अवसरमा बाजुराका चार पालिकामा जनतासँग डिजिटल स्वास्थ्य सेवा प्रवाहका विषयमा छलफलसमेत गरिएको कार्यक्रमका अध्यक्ष एवं बडिमालिका नगरप्रमुख अमरबहादुर खड्काले जानकारी दिनुभयो ।



























