चितवन विशेष
सेन्ट्रल ग्रुपमा गैँडाकोट टेक्निकल एकेडेमी आबद्ध, हजारौं युवालाई सीपमूलक तालिम दिने

भरतपुर,असार १८-
सेन्ट्रल ग्रुपले गैँडाकोट टेक्निकल एकेडेमीलाई आफ्नो समूहमा आबद्ध गर्दै प्राविधिक तथा सीपमूलक शिक्षाको क्षेत्रमा सेवा विस्तार गरेको छ। ग्रुपले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अब एकेडेमीमार्फत छोटो अवधिका सीपमूलक तालिम सञ्चालन गरिने जनाएको हो।
ग्रुपका अध्यक्ष यज्ञ विलास पौडेल (वाईबी) का अनुसार युवालाई दक्ष, आत्मनिर्भर तथा प्रतिस्पर्धी जनशक्ति बनाउने उद्देश्यका साथ कम्प्युटर, मोबाइल मर्मत, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, प्लम्बिङ, एसी टेक्निसियन, कुक, वेटर, हाउसकिपिङ, बारिस्टा, फेसन डिजाइनिङ, बुटिक तथा केयरगिभरलगायतका तालिम सञ्चालन गरिनेछ। छोटो अवधिमै हजारौं युवालाई तालिममा सहभागी गराउने लक्ष्य ग्रुपले लिएको पौडेलले बताउनुभयो ।
सेन्ट्रल ग्रुपअन्तर्गत हाल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजमार्फत बीएचएम र बीआईटीएम कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिमार्फत जापान, अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, दक्षिण कोरिया तथा युरोपका विभिन्न मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई भाषा कक्षा,तयारी कक्षा, शैक्षिक परामर्श तथा भिसा प्रक्रियासम्बन्धी सेवा प्रदान हुँदै आएको छ।
ग्रुपले सेन्ट्रल एजुकेशन एण्ड माइग्रेसन सर्भिस प्रालि., कावासोती जापानिज ल्याङ्ग्वेज स्कुल प्रालि., रत्ननगर सेन्ट्रल कलेज तथा सेन्ट्रल ट्राभल एण्ड टुर्समार्फत पनि विभिन्न शैक्षिक तथा सेवामूलक गतिविधि सञ्चालन गरिरहेको जनाएको छ। निकट भविष्यमा तीनवर्षे डिप्लोमा तहअन्तर्गत सिभिल इन्जिनियरिङ, सर्वे इन्जिनियरिङ, आर्किटेक्चर, एनिमल साइन्स, प्लान्ट साइन्स तथा फुड एण्ड डेरी प्रोडक्टसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको अध्यक्ष पौडेलले बताउनुभयो। यी सबै सेवा भरतपुर ओरालोस्थित सेन्ट्रल टावरबाट उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
सरकारको सीपयुक्त युवा, आत्मनिर्भर नेपाल अभियानलाई सहयोग पुर्याउँदै गुणस्तरीय प्राविधिक शिक्षा र व्यावसायिक सीप विकासमार्फत रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न आफूहरू प्रतिबद्ध रहेको सेन्ट्रल ग्रुपले जनाएको छ। चितवन, नवलपुर र तनहुँमा शिक्षा, सामाजिक उत्तरदायित्व तथा युवा विकासका क्षेत्रमा सक्रिय ग्रुपले स्वदेशी तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग सहकार्य गर्दै आगामी दिनमा पनि सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।





























