चितवन विशेष
इच्छाकामना गाउँपालिकाका कर्मचारीद्वारा प्रमुख प्रशासकीयमाथि भएको आक्रमणको विरोध,कारवाही नगरे काम ठप्प पार्ने चेतावनी

भरतपुर,असार १८-
चितवनको इच्छाकामना गाउँपालिकाका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यालयभित्र भएको सामूहिक आक्रमणको विरोध गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। गाउँपालिकाका सम्पूर्ण कर्मचारी परिवारद्वारा जारी विज्ञप्तिअनुसार, बिहिबार बिहान करिब ११ बजे गाउँपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतमाथि कालिका २ पदमपुरको किंगफिसर कन्सट्रक्सनका प्रोप्राइटर लालबहादुर तामाङसहित ६ जनाको समूहले कार्यालयमै प्रवेश गरी सामूहिक आक्रमण गरेको जनाइएको छ ।
विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृतमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्नुका साथै परिवारलाई समेत नछाड्ने धम्की दिएको भन्दै उक्त घटनालाई कार्यालयभित्र भएको गम्भीर आपराधिक घटना भन्दै भर्त्सना गरिएको छ । दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग कर्मचारीले माग गरेका छन ।
विज्ञप्तिमा कार्यालय समयमै प्रशासनिक नेतृत्वमाथि भएको आक्रमणले कर्मचारीहरूको सुरक्षा र मनोबलमा गम्भीर असर परेको उल्लेख गर्दै दोषीमाथि आवश्यक कानुनी कारबाही नहुँदासम्म कार्यालयको नियमित कामकाज गर्न नसकिने उल्लेख गरिएको छ। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा कर्मचारीहरूले सुरक्षित वातावरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था सिर्जना गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। उक्त विज्ञप्तिमा गाउँपालिकाका कर्मचारीहरूको सामूहिक हस्ताक्षर रहेको छ।




























