चितवन विशेष
चितवन,नवलपुरमा काठमाडौं युनिभर्सिटीले दियो पहिलोपटक सम्बन्धन,गैडाकोटमा एनआइटी कलेजले बिआइटी (साइन्स) पढाउने

चितवन,असार १४-
चितवन,नवलपुर क्षेत्रमा अध्यापनका लागि काठमाडौं युनिभर्सिटी (केयु)ले पहिलोपटक सम्बन्धन दिएको छ । गैडाकोटमा रहेको एनआइटी कलेजले ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी बिआइटी (साइन्स) अध्यापनका लागि केयुले सम्बन्धन दिएको हो । गैँडाकोट ५ मा यसै वर्षदेखि सञ्चालनमा आएको यस शैक्षिक संस्था एनआइटी कलेजले शैक्षिक सत्र २०२६ का लागि भर्ना औपचारिक रूपमा खुला भएको जनाएको छ ।
कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा, व्यवहारिक सीप, उद्योगको अनुभव र आर्थिक आत्मनिर्भरता दिलाउने उद्देश्यले यस वर्ष ‘पढ्दै कमाउँदै’ अवधारणालाई विशेष प्राथमिकताका साथ सञ्चालन गर्ने जनाएको छ। कलेजका प्रिन्सिपल इन्जिनियर मनोज सापकोटाका अनुसार सूचना प्रविधि क्षेत्रमा बढ्दो रोजगारीको मागलाई ध्यानमा राख्दै बीआईटी कार्यक्रम सञ्चालन गरिएको हो। अध्ययनसँगै विद्यार्थीलाई उद्योगसँग जोड्न दुई अन्तर्राष्ट्रिय र बाह्र राष्ट्रिय सूचना प्रविधि (आइटी) कम्पनीसँग सहकार्य गरिएको सापकोटाले बताउनुभयो ।
यस सहकार्यबाट विद्यार्थीले अध्ययनकै क्रममा तलबसहितको इन्टर्नशिप, आंशिक समयको रोजगारी, उद्योगमा आधारित परियोजनामा सहभागिता तथा करिअर मार्गदर्शन जस्ता अवसर प्राप्त गर्नेछन्। यसले विद्यार्थीलाई अध्ययनसँगै कार्यअनुभव, व्यावसायिक सञ्जाल र आम्दानीको अवसर उपलब्ध गराउने विश्वास कलेजले लिएको छ। पहिलो सेमेष्टर देखिदै प्रोजेक्ट बेस लर्निङमा आधारित पाढ्यक्रम रहेकाले विद्यार्थीको आकर्षण बढिरहेको प्रिन्ससिपल सापकोटाले बताउनुभयो ।
चार वर्षे बीआईटी कार्यक्रम विशेषगरी कक्षा १२ को विज्ञान संकाय अथवा सो सरहको अध्ययन पूरा गरेका विद्यार्थीका लागि सञ्चालन गरिएको हो। कार्यक्रममा सफ्टवेयर डेभलोप्मेन्ट, कृत्रिम बौद्धिकता (एआइ),मेशिन लर्निङ, डिप लर्निङ, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, डाटा विज्ञान, मोबाइल एप विकास तथा वेब प्रविधिसम्बन्धी विषय समावेश छन्।
कलेजका अनुसार बीआईटी अध्ययनपछि विद्यार्थीले सफ्टवेयर इन्जिनियर, कृत्रिम बौद्धिकता इन्जिनियर, डाटा विश्लेषक, साइबर सुरक्षा विशेषज्ञ, क्लाउड इन्जिनियर, प्रणाली विश्लेषक, परियोजना व्यवस्थापक, सूचना प्रविधि परामर्शदाता तथा डिजिटल उद्यमीका रूपमा करिअर बनाउन सक्नेछन्।
कलेजले बिहानको कक्षा, अत्याधुनिक कम्प्युटर प्रयोगशाला, परियोजनामुखी शिक्षण प्रणाली, उद्योगसँग प्रत्यक्ष सहकार्य, विभिन्न छात्रवृत्ति योजना तथा अनुभवी प्राध्यापकबाट अध्यापनलाई कार्यक्रमका प्रमुख विशेषताका रूपमा उल्लेख गरेको छ।
कलेजका अनुसार ‘पढ्दै कमाउँदै’ अवधारणाले विद्यार्थीलाई स्नातक अध्ययनकै क्रममा कार्यअनुभव र आम्दानीको अवसर प्रदान गर्दै रोजगारी बजारका लागि सक्षम जनशक्ति तयार पार्ने लक्ष्य राखिएको छ। सीमित सिट भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकले असार २५ गतेसम्म रजिष्ट्रेसन गर्नुपर्नेछ ।



























