चितवन विशेष
रास्वपा महाधिवेशनः सबैभन्दा कान्छी प्रतिनिधि चितवनकी आकांक्षा केन्द्रीय सदस्य निर्वाचित

भरतपुर,असार १२-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट चितवनकी २३ वर्षीया आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिमध्ये सबैभन्दा कान्छी प्रतिनिधिका रूपमा सहभागी हुनुभएकी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिका रूपमा मनोनयन गर्नुभएकी पोखरेलले निर्वाचनमा ८ सय ८० मत प्राप्त गर्नुभयो । पार्टी स्थापना कालदेखि नै रास्वपामा सक्रिय रहँदै आउनुभएकी उहाँले महानगर सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ । महानगरबाट उहाँ एकैपटक केन्द्रीय तहमा निर्वाचित हुनुभयो । पोखरेल हाल भूमि व्यवस्था सहकारी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत हुनुहुन्छ । उहाँले दुई बर्ष चितवनमा रहेर पत्रकारिता क्षेत्रमा समेत काम गर्नुभयो ।
निर्वाचित भएपछि रासससंग प्रतिक्रिया दिँदै पोखरेलले देशभरबाट आएका प्रतिनिधिहरूले विश्वास गरेर आफूलाई निर्वाचित गराएकोमा खुसी व्यक्त गर्नुभयो । देशभरका प्रतिनिधिहरूले मतदान गरेर विजयी गराउनुभएकोमा निकै खुसी लागेको छ । यसले मलाई थप जिम्मेवार बनाएको महसुस भएको छ, उहाँले भन्नुभयो ।
उहाँले आफूले ‘जेन–जी’ पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय समितिमा प्रवेश गरेको उल्लेख गर्दै युवाको सक्रिय सहभागिताले नेपाली राजनीतिमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय युवाहरू राजनीतिप्रति आकर्षित हुँदै गएको उल्लेख गर्दै उहाँले सक्षम र इमानदार युवा नेतृत्वमार्फत देशमा सुशासन, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्न सकिने धारणा राख्नुभयो ।


























