राजनीति
रास्वपाको केन्द्रीय सदस्यमा ठाकुरसिंह थारुको उम्मेदवारी घोषणा, को हुन् ठाकुरसिंह ?

चितवन, असार ९-
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा सांसद ठाकुरसिंह थारुले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। बर्दिया निर्वाचन क्षेत्र नं.१ बाट लोकप्रिय मतसहित निर्वाचित भएका थारुले महाधिवेशनका क्रममा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्। बर्दियाको बढैयाताल गाउँपालिका–५ मा २०३१ भदौ १४ गते जन्मिएका थारुले २०५६ सालदेखि सक्रिय राजनीति सुरु गरेका थिए।
पत्रकारिता क्षेत्रबाट सार्वजनिक जीवनमा परिचित बनेका थारु नेपाल पत्रकार महासङ्घको अध्यक्षसमेत भइसकेका छन्। उनले कानुन व्यवसाय तथा कृषि क्षेत्रमा समेत आबद्ध भएर काम गरेका छन्। पछिल्लो समय पश्चिम नेपालमा प्रभावशाली युवा नेताका रूपमा उनी स्थापित हुँदै गएका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ मा खसेको करिब एक लाख दुई हजार मतमध्ये थारुले करिब ५० हजार मत प्राप्त गर्दै विजयी भएका थिए। सरल, मिलनसार र जनतासँग सहज रूपमा घुलमिल हुने स्वभावका कारण उनी स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म प्रभाव राख्न सफल भएका छन ।
लामो राजनीतिक तथा सामाजिक संघर्षपछि प्राप्त जनमत र नागरिकको मायालाई अझ सशक्त रूपमा पार्टी संगठन निर्माण र नीतिगत नेतृत्वमा उपयोग गर्ने प्रतिबद्धतासहित थारुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन ।


























